आर्दश ज्योति (एजे) सेकेण्डरी स्कूल पाण्डुबजार भक्तपुरको आयोजनामा फागुन २४ गतेदेखि २८ गतेसम्म चौंथो एजे कप भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताकाबारे आज स्कूलमा आयोजित पत्रकार सम्मेलनमा स्कूलका प्रिसिन्पल कृष्णराम दुवालले सो कुराको जानकारी दिएका हुन्।
उनले विद्यार्थीलाई स्वस्थ बनाउन, विभिन्न कुलतबाट जोगाउन र पढाइप्रति लगाब बढाउन खेलकूदले निकै सहयोग पुर्याउने भएकाले प्रतियोगितालाई निरन्तरता दिइरहेको बताए।
काठमाडौं उपत्यकाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहने प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका छात्रतर्फ १० टिम र छात्रातर्फ ७ टिम गरी कूल १७ टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कारका साथै सिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ।
त्यस्तै, विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक तथा प्लेयर अफ दि टूर्नामेन्टलाई पुरस्कृत गरिने छ।
प्रतियोगितामा २ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ। नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाइ छ।