पोखरा रंगशालाको पुरानो फुटबल प्यारापिट भत्काउन सुरू गरिएको छ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बुधबारदेखि दर्शक प्यारापिटबाट भत्काउने सुरू गरेको हो। भूकम्पका कारण जीर्ण अवस्थामा रहेको रंगशाला भत्काउन सुरू गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए।
करीब १ अर्ब ३३ करोडको लागतमा पोखरा फुटबल स्टेडियम अबको १० महिनामा निर्माण सम्पन्न हुने गरि काम थालिने अध्यक्ष पौडेलले बताए। उक्त स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डर समेत आह्वान गरि टेण्डर प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको अध्यक्ष पौडेलले बताए।
हालको संरचना भत्काउन परिषदले ४४ लाख रुपैयाँ निकासा गरिसकेको उनले जानकारी दिए। अबको एक महिनामा पुरानो संरचना भत्काएर ग्लोबल टेण्डरमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउने अध्यक्ष पौडेलले बताए।
उनले सन् २०१९ को मार्चमा नेपालमा आयोजना गरिने १३ औँ दक्षिण एशियाली खेलकुदलाई लक्षित गर्दै नयाँ संरचना बनाउन फुटबल रंगशाला भत्काएको बताए ।