एएफसी एशियन कप २०१९ फुटबल छनोट खेल्नका लागि फिलिपिन्सको राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।
खेल आगामी कात्तिक २८ गते मंगलबार एन्फा मैदान सातदोबाटोमा हुनेछ। तर, यसअघि नै नेपाल छनोट चरणबाट बाहिरिसकेको छ। फिलिपिन्ससँग खेल्नका लागि एन्फाले नेपाली टिमको घोषणा गरिसकेको छैन।
यही खेलबाट चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो पचासौँ खेल खेल्दै राष्ट्रिय टिमबाट सन्यास लिँदैछन्।
एएफसी एशियन कपको समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा ताजिकिस्तानसँग ३–० ले पराजित भएसँगै नेपालको यात्रा छनोट चरणमा सीमित भएको थियो। यस पाँचौं खेलमा नेपालले फिलिपिन्ससँग भिड्दैछ भने अन्तिम खेल दोहामा यमनसँग खेल्दैछ।