नेपालका चर्चित पूर्व फुटबल खेलाडी कुमार थापा यूरोपेली फुटबल महासंघ (यूइएफए)ले सञ्चालन गर्ने फुटबल व्यवस्थापन सम्बन्धी कोर्षका लागि छानिएका छन्।
समग्र एशियाबाट छनोटमा परेका एकमात्र खेलाडी उनी स्नातकोत्तर सरहको दुई वर्षे कोर्षका लागि छानिएका हुन्। यस कोर्षका लागि विश्वभरबाट २५ जना छनोट भएका छन्। एशियाबाट छनोट हुने एक्लो व्यक्ति हुँदा खुसी लागेको उनले बताए। छनोटपछि उनले २७ हजार अमेरिकी डलरको छात्रवृत्ति पाउने पनि पक्का भएको छ।
कार्षका लागि छानिएपछि थापाले भने, ‘एशियालीस्तरको तालिम पाउन समेत गाह्रो परिरहेका बेला यूइएफएकै कोर्ष पाउनु नेपाली फुटबलको लागि महत्त्वपूर्ण उपलब्धि भएको ठानेको छु।’ तालिम यही नोभेम्बर १३ देखि सुरू भएर सन् २०१९ को नोभेम्बर १४ सम्म सञ्चालन हुनेछ। यस तालिम फुटबल प्रतियोगिता सञ्चालन र व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक विषयमा केन्द्रीत रहने बताइएको छ। कोर्ष अमेरिका, स्विटजरल्यान्ड, फ्रान्स, इंग्ल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र जर्मनीमा सञ्चालन हुनेछ।
कोर्षको शैक्षिक साझेदारको रुपमा बेलायतको यूर्निभर्सिटी अफ लन्डन र फ्रान्सको यूनिभर्सिटी अफ लिमोगेस रहेका छन्। कोर्षका लागि नेपालका कुमार थापासँगै २००२ को विश्वकप विजेता ब्राजिलियन टिमका जिलबर्टो सिल्भा, सन् २०१५ को महिला विश्वकप विजेता जर्मनीकी आनेका खान, स्पेनका पूर्व खेलाडी मेन्डिएटा, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका टिम संयोजक म्याक्सवेल, आइभरी कोस्टका पूर्व खेलाडी तथा स्कटिस क्लब सेल्टिकका सहायक प्रशिक्षक कोलो टुरो पनि छनोटमा परेका छन्।