राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ साफ खेलकुद प्रतियोगिता तोकिएकै सयममा हुने बताएका छन्।
पश्चिमाञ्चल विकास समितिले निर्माण गरेको मिडिया सेण्टर र पश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रशिक्षण केन्द्रको औपचारिक उद्घाटन गर्दै विष्टले निर्धारित समय मै प्रतियोगिता हुने बताए ।
उनले यसवर्ष राखेप च्याम्पियनसीप र अर्को वर्ष आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताए । आठौँ राष्ट्रिय खेलकुदबाट छनौट भएका खेलाडीलाई नै १३ औँ साफ च्याम्पियनसीपमा सहभागी गराउने बताए । उनले खेलकुद क्षेत्रमा लाग्ने व्यक्तित्वहरूलाई उच्च सम्मान पाउने वातावरण बनाउन आफू लागि परेको बताउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई मात्र हैन राष्ट्रिय खेलाडीहरूलाई मासिक पारिश्रमिक दिने व्यवस्था गर्ने बताए । उनले भौतिक पूर्वाधारहरू हेरेर सम्भव भएसम्म साफ गेमका धेरै भन्दा धेरै खेल पोखरामा गराउने बताए।
सदस्य सचिव विष्टले खेलकुद क्षेत्रमा अहिले धेरै मात्रामा भौतिक पूर्वाधारहरू निर्माण गरेको बताए । उनले अहिले नेपालमा १२ सयभन्दा बढी खेलकुदको पूर्वाधार निर्माणका कामहरू भइरहेको उल्लेख गरे । नेपालले वर्षमा जम्मा ९२ वटा पदकहरू हात पारेकोमा आफू आएपछि अहिलेसम्म करीब चारसय वटा पदक जितिसकेको तथ्यांक प्रस्तुत गरे ।
उनले आगामी वर्ष नेपालले कम्तीमा पनि पाँचसय वटा पदक जित्ने दाबी गरे । उनले विगत लामो समयदेखि रोकिएका प्रशिक्षणका कामहरू र नयाँ प्रतिभा खोज्ने कामहरूले तीव्रता पाइरहेको बताए ।
मिडिया सेण्टरमा १० वटा कम्प्युटर, टेलिभिजन, फोटोकपी मेसिन, इण्टरनेटसहित सुविधा सम्पन्न बनाएको छ । मिडिया सेण्टरका लागि करीब १९ लाख रुपैयाँ खर्च लागेको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए।