आँखामा कालोपट्टि बाँधेर सुँघेकै भरमा रातो, कालो, हरियो, नीलो लगायत सबै किसिमका रंग पत्ता लगाउने ११ वर्षिषा नेपाली बालिका दिप्ती रेग्मीको युरोपका सँचारमाध्यममा चर्चा चुलिएको छ।
लण्डनबाट निस्कने डेलिमेल पत्रिकामा छापिएपछि त्यसैलाई श्रोत मान्दै स्वीजरल्याण्ड, फ्रान्स, पोर्चुगल, जर्मनका अखबारहरुमा उनको अचम्मको क्षमताको निकै चर्चा भैरहेको छ।
लण्डनका वैज्ञानिकहरुले दिमागका रेशाहरुको अस्वाभाविक भेटघाट स्वरुप उत्पन्न हुने विचित्रको गुण सिनेस्थेसिया भनेका छन् भने रेग्मीले दैवीशक्ति मार्फत आफूले यो क्षमता पाएको बताएकी छिन्। पोहोर साल उनले पहिलो पटक आफूले रँग सुँघ्ने क्षमता पहिलो पटक थाहा पाएको बताएकी छिन्।
उनी कहाँ बस्छिन्? कुन स्कूलमा पढ्छिन् भनेर विस्तृत विवरण समाचारमा खुलाइएको छैन। समाचार र भिडियो तयार पार्ने पुस्कर नेपालले आफूसँग प्रमाण भएको बताएका छन्। उनका बुवा आमा शिक्षण पेशामा रहेको बताइएको छ।
सँसारभरी झण्डै ५ हजार जनाका सिनेस्थेसियाको लक्षण देखिएको बोस्टन युनिभर्सिटीले आफ्नो साइटमा बताएको छ। कुनै शब्द सुन्दा गाजर, फर्सी, मकैका फूलाको स्वाद आउने समस्या यसअघि पनि लण्डनमा भेटिएको थियो।