अवैध बिट क्वाइन कारोबारमा राप्रपामा नेता पक्राउ परेका छन् । प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य दमन बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो ।
उनीसँगै सिआइबीले अन्य ६ जनालाई अवैध बिट क्वाइन कारोबार गरेको भन्दै गत असोज २१ गते पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सिआइबीले नेपाल राष्ट्र बैंकको ऐन २०५८ अनुसार मुद्दा चलाएको छ। नेपालमा बिट क्वाइन कारोबार गर्नेमा बस्नेत पनि मुख्य नाइके भएको सिआइबीले जनाएको छ।
इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने गरी आफूहरुले कारोबार गर्ने गरेको पक्राउ परेकाहरुले बताएका छन् ।
बालेटमा भएको क्वाइन अनुसार रकम लिने गरेको उनीहरुले प्रहरीसमक्ष बताएका छन्। एउटा क्वाइनको ४३ सय रुपैयाँमा उनीहरुले कारोबार गरेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए।
विदेशतिर क्रेडिट कार्डबाट रकमको कारोबार हुने गरेतापनि नेपालमा भने उनीहरु भेटेर रकम बुझाउने गरेको डिआइजी कार्कीले बताए।
नेपालमा पनि बिट क्वाइन कारोबार भइरहेको भन्दै त्यसलाई अवैध घोषणा गर्दै राष्ट्र बैंकले सुचना निकालेपछि सिआइबीको टोली बिट क्वाइन खेल्नेहरु खोज्न अनुसन्धानमा जुटेको थियो।
दोलखा तामाकोशी गाउँपालिका ५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घर भाडामा लिइ उपकरण राखेर बिट क्वाइन कारोबार गर्ने काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाह पक्राउ परेपछि उनकै वयानका आधारमा अरुलाई प्रहरीले पक्रेको हो।
बिट क्वाइन सेयरजस्तै गरी रकम बढ्ने, पहिचान खुलाउन नपर्ने, रकमको स्रोत खुलाउन नपर्ने र कर प्रणालीमा सहभागी हुनु नपर्ने भएकाले मानिसहरुको त्यसतिर आकर्षक रहेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
तर बिट क्वाइनमा लगानी डुब्ने खतरा उत्तिकै रहेको एसपी श्रेष्ठले बताए।