दाङमा चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ भने एकजना युवती गम्भीर घाइते भएकी छन् ।
भैलो खेल्ने क्रममा २९ वर्षीय बसन्त महराको चक्कु प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ साजखुटी निवासी २७ वर्षीय सेतीराम रेउलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए । महराको चक्कु प्रहारबाट १८ वर्षीया बालिका महरापनि घाइते भएकी छन्।
अर्यालका अनुसार आइतबार बिहान एक बजेतिर गाउँमै भैलो खेल्दै गर्दा मदिराले मातेका महराले आफ्नै मामाको छोरा अर्थात भाई नाता पर्ने सेती राम रेउले र दाजुको छोरी बालिका महरालाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते रेउलेको उपचकार लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
चक्कुले रेउलेको फोक्सो छेडेको प्रहरीले बताएको छ । अर्की घाइते बालिका महराको भने तुलसीपुर मै उपचार भइरहेको छ । झगडा छुटाउन खोज्दा बालिका महरामाथि समेत बसन्त महराले चक्कु प्रहार गरेको खुल्न आएको प्रहरीले बताएको छ।
यसैबीच चक्कु प्रहार गर्ने बसन्त महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले रातको दश बजेभन्दापछि देउसी भैलो न खेल्न आग्रह गरेको थियो ।