'गुन्डानाइके' दीपक मनाङेको समूहले मनाङबाट एक जना व्यवसायीको अपहरण गरेका छन्। गत शनिबार राती ११ बजे मेथास्थित एक होटलमा बास बसेका ४ जनामध्ये नार फु गाउँपालिकाका कर्मा लाक्पा लामाको अपहरण गरेका हुन्।
होटलमा सँगै बास बसेका अन्य ३ जना लोप्साङ फुम्जो, धोर्जे लामा, गणेश घले र टासी लामा भागेका थिए। कर्मा लाक्पा लामा र टासि लामासँग रहेको १० लाख रुपैयाँ मनाङे समूहका युवाहरूले लिएका थिए।
मनाङमा होटल खोल्न भन्दै उनीहरू काठमाडौंबाट सोही दिन त्यहाँ पुगेका थिए। कर्मा लाक्पालाई मेथाबाट रातभर हिडाएर उनीहरूले नार लगेका थिए।
घटनाको भोलिपल्ट कर्मा लाम्पा अपहरणमा परेको खल्लीखल्ली भएपछि मनाङे आफैँ नार पुगेर १० लाख रुपैयाँ र कर्मालाई प्रहरी चौकीमा बुझाएका त्यहाँबाट हिँडेका थिए।
अपहरणमा परेका कर्माले आफूलाई दीपक मनाङगे समूहले अपहरण गरेर रातभर नियन्त्रणमा लिइ थप रकम मागेको भन्दै चामेस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
लुटेको रकम नारमा प्रहरीले किन बुझ्यो, कर्मा लाक्पाले भने, यसमा प्रहरीको पनि मिलेमतो देखिन आएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरबहादुर पुलामीले यस विषयमा थप अनुसन्धान भइरहेको भन्दै केही नबताउने बताए।
केहीदिनअघि एमाले प्रवेश गरेका मनाङे निर्वाचनमा उठ्ने तयारीमा छन्। अहिले उनी मनाङका विभिन्न स्थानमा पुगेर मत माग्ने काम गरिरहेका छन् ।