भिजिट भिसामा दुबइ लगेर अलपत्र पार्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बाग्लुङ घर भइ काठमाडौ मैतिदेवी बस्ने इश्वर भण्डारी, गोरखा घर भइ पैयुटार बस्ने विर्यमान गुरुङ, मिन भन्ने राजु घले र कैलाली घर भइ ललितपुरको भैसेपाटी बस्ने भानु ढकाललाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठदले जानकारी दिए।
भण्डारी पान्डाेरा म्यानपावरका संचालक हुन् । गुरुङ र घले मिलेर विदेश जानेको कागजात तयार गर्ने र ढकालले टिकटको व्यवस्था मिलाउने गरेको उनले बताए। उनीहरुले १६ जना युवाहरुलाई केही महिनाअघि भिजिट भिसामा दुबइ लगेका थिए।
भिसिट भिसामा दुबइ लगेर त्यहाँ केही दिनपछि काम लगाइने भन्दै उनीहरुले एक व्यक्तिबाट एक लाखभन्दा बढी उठाएका थिए।
३ महिनासम्म दुबइमा अलपत्र परेका १६ जना नेपालीलाई त्यहाँस्थित नेपाली दुतावास र एनआरएनए दुबइको सहयोगमा नेपाल ल्याइएको थियो। पक्राउ परेकाहरुलार्ए मानव बेचबिखन मुद्दा चलाइने सिआइबीले जनाएको छ।