महोत्तरीस्थित गढन्ताको जंगलमा काठ तस्कर र वन गस्तीको टोलीबीच सोमबार झडप भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र वन रक्षक (सवर) ले चार राउण्ड फायर गरेको छ।
जिल्ला वन प्रमुख (डीएफओ) राजेन्द्र जयसवालका अनुसार रात्रिकालीन गस्तीका क्रममा करीब साढे २ बजेतिर गढन्ताको जंगलमा पुगेका वनकर्मीलाई २५/३० जनाको संख्यामा रहेका हतियारधारी काठ तस्करले घेरा हाली आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि फायर गर्नु परेको हो।
सशस्त्र वन रक्षकसहित सहायक वन अधिकृत दिनकरदयाल साहको कमाण्डमा रहेको ७ जनाको गस्तीमाथि आँखामा टर्च बाल्दै ढुंगामुढाले आक्रमण गर्न थालेपछि अवस्था जटिल बनेको गस्तीमा संलग्न वनकर्मीलाई उद्धृत गर्दै जयसवालले जनाए। हवाई फायरपछि तस्कर तितरबितर भएका थिए।
घना जंगल र अँध्यारोको फाइदा उठाउँदै काठ तस्कर भागेपछि उनीहरूले अवैधरूपमा काटेको २० क्यूफिट बराबरका साखु जातका ३ थान गोलिया गस्ती टोलीले बरामद गरेको छ।
डीएफओ जयसवालका अनुसार घटनापछि जंगली क्षेत्रमा अहिले गस्ती र निगरानी तीव्र पार्नुका साथै घटनाको सूक्ष्म अनुसन्धान थालिएको छ।
गत साता बर्दिवास–३ स्थित पाटुको जंगलबाट साखुका करीब ६ क्यूफिट काठसहित पक्राउ परेका ५ जना काठ तस्करको घटनासँग गढन्ताको घटनालाई जोडेर वन कार्यालयले अध्ययन थालेको जनाएको छ।