सिनामंगलको रोयल नेपाल गल्फ कोर्सभित्र एउटा झुपडी छ, जहाँ गल्फ मैदानको घाँस काँटछाँट गर्ने दम्पती बस्छ। बुवा पासाङ शेर्पा र आमा कल्पना पोख्रेलकी एक्ली छोरी यही मैदानभित्र हुर्किन/बढिन्। र, आज उनी धनीहरुको खेल भनिने गल्फमा नेपालकै 'नम्बर एक महिला खेलाडी' का रूपमा चिनिन्छिन्।
१८ वर्षीया प्रतिमा शेर्पाले गल्फ खेल्न थालेको झन्डै ७ वर्ष भयो। यस अवधिमा उनले ४० वटाजति प्रतियोगिता खेलेकी छन्, जसमध्ये ३५ वटामा त उपाधि नै जितिन्। यही बिहीबार सकिएको घनश्याम प्रोफेसनल गल्फ प्रतियोगितामा भाग लिएका ३९ खेलाडीमध्ये उनी एक्ली महिला थिइन्। उनी दुईपटक चीनमा हुने गल्फ प्रतियोगिताको फाल्डो सिरिजमा छानिइन्, तर पासपोर्ट नबनेकाले जान पाइनन्।
'जुनियरमा जितेको त के कुरा गर्नु र, ट्रफी राख्ने ठाउँ नै छैन,' प्रशिक्षक सचिन भट्टराईले सेतोपाटीसँग भने।
प्रतिमाले जिन्दगीमा सबभन्दा पहिला चिनेको आफ्ना आमाबाबु र त्यसपछि सायद गल्फ नै हो।
यही गल्फ मैदानमा काम गर्ने क्रममा उनका आमाबाबुले प्रेम विवाह गरेका थिए। प्रतिमा जन्मेपछि उनीहरुले आफूसँगै गल्फ कोर्स लिएर जान थाले। 'बुवा भन्नुहुन्थ्यो-गल्फ कोर्स आउने पहिलो बच्चा मै हुँ,' प्रतिमाले सुनाइन्, 'बलले लाग्छ भनेर त्यसअघि बच्चाहरू ल्याउन पाइन्थेन। मलाई घरमा हेर्ने कोही नभएपछि उहाँहरूले सँगै ल्याउन थाल्नुभएछ।'
प्रतिमा पाँच वर्षकी थिइन्, जब पासाङ र कल्पना गल्फ कोर्समै छाप्रो हालेर बस्न थाले। त्यसपछि त प्रतिमाको दिनरातै गल्फ हेरेर बित्न थाल्यो। 'यहाँ प्रतियोगिता भएको बेला म दिनभरि हेरेर बस्थेँ,' उनले बाल्यकालको सम्झना सुनाइन्।
उनका प्रशिक्षक सचिन भट्टराईले त पहिल्यै भनेका थिए, 'प्रतिमा गल्फ कोर्सकी छोरी हो, उसलाई नचिन्ने यहाँ कोही छैन।'
उनी सानैदेखि देखासिकीमा गल्फरले जस्तै हात हल्लाउँथिन्। गल्फरले लौरो घुमाएको हेर्दा रमाउँथिन्। उनलाई त्यो लौरो र बल छुने एकदमै रहर थियो।
र, एकदिन उनले चाहेजस्तै भयो।
उनी गल्फ खेलेको हेरिरहेकी थिइन्, कुनै खेलाडीले हानेको बल उनको हातमै लाग्यो।
'मलाई साह्रै दुखेको थियो, तर म रोइनँ,' उनले भनिन्, 'दुखेकोभन्दा धेरै म बल छुन पाएर खुसी भएकी थिएँ।'
बल त छुन पाइन्, स्टिक समाउने सपना बाँकी नै थियो। यसको क्षतिपूर्ति काठको स्टिकबाट गरिन्। अलि ठूलो भएपछि उनका एक साथीले काठको स्टिक बनाए। यसैलाई उनीहरू गल्फ स्टिक मानेर हान्न थाले। फलामको स्टिक समाउन र गल्फ खेल्न पनि उनले धेरै समय पर्खिन परेन।
सन् २०११ मा यही मैदानमा नेपाल गल्फ एसोसिएसनले स-साना बच्चालाई निस्शुल्क सिकाउने कार्यक्रम ल्यायो। एसोसिएसनका अध्यक्ष टासी घलेले प्रतिमालाई पनि सहभागी गराए। प्रतिमाका अहिलेका प्रशिक्षक सचिन नै उक्त कार्यक्रमका प्रशिक्षक थिए।
प्रतिमाले पहिलोपटक गल्फ स्टिक समातेको त्यही बेला हो। त्यो खुसी उनको दिमागमा ताजै छ।
'पहिले काठले खेल्दा साथीहरूको बल उड्थ्यो, मेरो खालि गुड्थ्यो मात्रै,' उनले सुनाइन्, 'मलाई त बल माथि उडाउन सक्दिनँ कि जस्तो लागेको थियो। साँच्चिकै स्टिकले हान्दा मज्जाले उड्यो। ओहो म पनि बल माथि हान्न सक्ने रैछु जस्तो लाग्यो।'
आफैं गल्फका कुशल खेलाडी प्रशिक्षक भट्टराईलाई प्रतिमाको प्रतिभा चिन्न धेरै बेर लागेन। उनीसँग खेल्ने कला त थियो नै, त्योभन्दा धेरै सिक्न चाहने गुण थियो। र, त्यति नै आत्मविश्वास पनि।
'त्यसबेलाका १०-१२ जना बच्चामा ऊ नै सबैभन्दा क्युरियस थिई,' भट्टराईले भने, 'म दिनभर गल्फकोर्समै हुन्थेँ, ऊ जतिबेला पनि मलाई केही न केही सोधिरहेकी हुन्थी।'
प्रशिक्षणको अन्तिम दिन एउटा प्रतियोगिता राखिएको थियो -बल प्वालमा पसाउनुपर्ने।
प्रशिक्षणमा सहभागी अरूको बल प्वालमा पसेन। कसैको नपसेपछि प्रतिमालाई पनि सक्छु भन्ने लागेको थिएन। तै उनी सफल भइन्। उनले गल्फमा पहिलो ट्रफी जितेको त्यही बेला हो।
आफूले जितेको ट्रफी उनले आमाको हातमा राखिदिइन्। जीवनभर यही गल्फ कोर्समा घाँस काटेकी कल्पनाका लागि त्यो 'सरप्राइज' थियो। उनले आँशु थाम्न सकिनन्। छोरीलाई न्यानो अंगालोमा बेरिन् र धेरै बेरसम्म रोइरहिन्।
'खुसीको आँशु भनेको के हो मैले त्यतिबेला थाहा पाएँ,' प्रतिमाले भनिन्।
त्यसपछि प्रतिमा नियमित अभ्यास गर्न थालिन्। गल्फ खर्च धान्ने उनको परिवारको हैसियत थिएन। रोयल नेपाल गल्फ क्लबको सदस्य बन्न मात्रै १ लाख ४० हजार रूपैयाँ लाग्छ। वार्षिक ४० हजार रूपैयाँ बुझाउन पर्छ। प्रतिमाका आमाबुवालाई यति पैसा दिन निकै गाह्रो थियो। अझ गोकर्ण गल्फ कोर्समा त सदस्यता नै ६ लाखमाथि छ।
निम्नवर्गीय परिवारमा हुर्किए पनि प्रतिमाको प्रतिभाले अभावलाई सधैं जितिरह्यो।
क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले उनलाई नि:शुल्क सदस्यता दिए। गोकर्ण गल्फ कोर्स पनि निस्शुल्क उपलब्ध भयो। प्रशिक्षक भट्टराईले सधैंभरि नि:शुल्क सिकाइदिने बाचा गरे।
उनले ४० भन्दा धेरै खेलमा राम्रो प्रदर्शन गरिन्। ३५ वटा जतिमा त उपाधि जितिन्। गल्फ एसोसिएसनले केही महिनाअघि उनलाई 'नम्बर एक महिला गल्फर' को उपाधि नै दियो।
'उहाँहरूले नम्बर वान भने पनि मैले धेरै सिक्न बाँकी छ,' उनले भनिन्, 'मलाई खुसी त लागेको छ, तर नेपालमा धेरै महिला गल्फर छैनन्। प्रोफेसनल त छँदै छैनन्। त्यसैले म नम्बर वान हुन पाएँ।'
महिला प्रतियोगिताहरू सबै उनले जित्न थालेपछि उनलाई पुरूष समूहमा राखेर पनि खेलाइयो। गत जेठमा उनले पहिलोपटक पुरूष समूहमा खेलेकी थिइन्। रोयल नेपाल गल्फ क्लबका सदस्यबीचको यो प्रतिस्पर्धामा उनले अब्बल प्रदर्शन गरिन्। र, उपाधि जितिन्।
'मलाई केटीहरू मात्र होइन, सबैसँग कम्पिटिसन गर्न सक्ने रहेछु भन्ने लाग्यो,' प्रतिमाले भनिन्।
पुरूषको समूहमा खेलाउँदा पनि महिला खेलाडी भनेर पुरस्कार दिने गरेकोमा भने उनको चित्त दुखाइ छ। 'म म्यान्स ग्रुपमा खेलेपछि वुमन्सको पुरस्कार त दिनुभएन नि,' उनको गुनासो छ,'यहाँ त्यस्तो पनि हुँदो रहेछ।'
गल्फले उनको पढाइ पनि सहयोग गर्यो। कक्षा ७ देखि १० सम्म उनलाई एसोसिएसनले स्पोन्सर गर्यो। यसमा पढाइ खर्चदेखि गल्फसम्म थियो।
उनको स्कुल बिहानको थियो। फर्किएर उनी दिनभर गल्फ अभ्यास गर्थिन्। यसमा परिवारले पनि साथ दियो। उनले पढाइ र गल्फ दुवैलाई सँगसँगै अघि बढाइन्।
एसोसिएसनपछि उनलाई गाइकवार्ड फाउन्डेसनले पनि सहयोग गर्यो। 'सबैको सपोर्टले म यहाँ छु,' उनले भनिन्, 'मेरो सफलता मेरो मात्रै होइन, मलाई सहयोग गर्नुहुने सबैको हो।'
गाह्रो भए पनि पढाइ र गल्फलाई उत्तिकै प्राथमिकता दिइरहेको प्रतिमा बताउँछिन्। यसै वर्ष बिबिएस पढ्न थालेकी उनी पढाइमा पनि उत्तिकै लगनशील छिन्। 'टुर्नामेन्ट भइरहन्छन्, स्कुल सकेर प्लस टु गर्न थालेपछि पढाइको पनि लोड थपियो,'उनले भनिन्, 'निकै गाह्रो छ, तर मैले गल्फ खेल्नुछ र पढाइ पनि राम्रो गर्नुछ।'
कलेजको कामले नभ्याउँदा राति टर्चको उज्यालोमा पनि गल्फको अभ्यास गरेको उनी बताउँछिन्। भोलिपल्ट गल्फ खेल्नु छ भने अघिल्लो रात अबेरसम्म होमवर्क गरेर बस्छिन्।
'गल्फ मात्रै खेलेर हुन्छ कि हुन्न थाहा छैन,' उनले भनिन्, 'भोलि जागिर त पाइएला, तर पढाइ राम्रो नभए राम्रोसँग काम गर्न सकिँदैन। त्यसैले म पढाइमा राम्रो गर्ने प्रयास गरिरहेको छु।'
प्लस टु सकेपछि उनलाई विदेश गएर पढ्न सुझाव आएको थियो। उनले नेपालै बस्ने निर्णय गरिन्।
'म एक्ली छोरी हुँ,' उनले पढ्न बाहिर नजानुको कारण खुलाइन्, 'म पनि बाहिर गए आमाबुवाको हेरचाह कसले गर्छ र?'
उनी थेम्स कलेजमा बिबिएस गरिरहेकी छन्। 'ट्रेनिङ, टुर्नामेन्टका लागि विदेश जान्छु,' उनले भनिन्, 'आमाबुवालाई सधैंका लागि छाडेर जान सक्दिनँ। गल्फ र पढाइ यहीँ गर्छु।'
पासपोर्ट नभएर चीन जान नसकेको थाहा पाएपछि एक अमेरिकी नागरिकले उनलाई अमेरिका बोलाएका थिए। त्यतिबेला पनि उनले अस्वीकार गरेकी थिइन्। सन् २०१२ मा पहिलोपटक फाल्डो सिरिजको छनोट खेलेकी उनलाई अर्को वर्ष चीन जाने अवसर जुरेको थियो।
'पहिले बुवालाई नागरिकता चाहिएको थिएन,' उनले भनिन्, 'नागरिकता बनाउनै नाम्चे जान गाह्रो थियो। त्यही भएर मैले पासपोर्ट बनाउन पाइनँ।' पछि बुवा र उनले सँगै नागरिकता बनाए।
यसपालि पनि फाल्डोको छनोट नजिकिएको छ। उनी पहिले जान नपाएको धोको फेर्ने तयारीमा छिन्। उनले पासपोर्ट बनाएर पहिलो विदेश यात्रा पनि गरिसकिन्। विदेशी गल्फ कोर्समा खेल्नुको अनुभव पनि लिइसकिन्।
एक महिनाअघि उनी अमेरिकाको क्यालिफोर्निया गएकी थिइन्। अमेरिकी गल्फररलेखक ओलिभर होरोभिचले क्यालिफोर्नियाका मन्टानो परिवारसँग कुरा गराइदिए। उनै ओलिभरले प्रतिमाबारे गल्फ डाइजेस्टमा फिचर लेखेका थिए। त्यसपछि पश्चिमी मिडियमा उनकाबारे चर्चा भएको थियो। ओलिभरकै सल्लाह र सहयोगमा उनको आर्थिक सहायताका लागि टिमप्रतिमा डटकम नामको वेबसाइट सञ्चालनमा छ।
प्रशिक्षक भट्टराईका अनुसार मन्टानो परिवारले नै प्रतिमाको त्यहाँको बसाइ र खेल प्रबन्ध गरिदिएका थिए। त्यहाँ प्रतिमाले पाँच खेल खेलिन्।
पहिलो दिन म नर्भस भएँ, राम्रोसँग बल हान्नै सकिनँ,' उनले भनिन्, 'मलाई त हामीले खेलिरहेको कोर्सबाहेक अन्त खेल्न सक्दिनँ कि भन्ने भयो।'
तेस्रो खेलमा भने उनी पहिलो भइन्।
'जितेँ भन्ने विश्वास नै लागेन,' उनले आफ्नो अनुभूति वर्णन गरिन्, 'पछि विदेशमा पनि खेल्न र जित्न सक्ने रहेछु भन्ने लाग्यो।'
देशका लागि खेल्नु कस्तो हुन्छ भन्ने अमेरिका गएपछि थाहा पाएको उनी बताउँछिन्। 'प्रतिमा शेर्पा भनेर बोलाउँदा त मलाई खास केही लागेको थिएन,' उनले सुनाइन्, 'फ्रम नेपाल भन्दा अनौठो फिल हुँदो रहेछ। मलाई यस्तो खुसी कहिल्यै लागेको थिएन।'
त्यहाँ ताइवान, चीन लगायत मुलुकका महिला गल्फर पनि आएका थिए। उनीहरू समूहमा थिए। 'हामी पनि यहाँ तीन-चार जना हुन्थ्यौं भने कस्तो राम्रो हुन्थ्यो,' उनलाई लागेको रहेछ, 'यसले त देशको गौरव बढाउने हो।'
उनले सोचेजस्तो नेपालमा धेरै महिला गल्फर छैनन्।
'यहाँ खेल्न आउने पनि धेरै त टाइम पास र फिटनेसका लागि आउँछन्,' प्रशिक्षक भट्टराई भन्छन्, 'उनीहरूसँग गल्फ खेल्ने सपना छैन।'
उनले सिकाएका अरु साना नानीहरू पनि प्रतिमाजस्तो नियमित भएनन्। सातामा एक दिनसम्म त आउँथे तर दिनहुँ आउनुपर्ने भएपछि धेरैजसो आउनै छाडे। 'अहिले त बढ्दै छ,' प्रतिमाले सुनाइन्, 'प्रतिमाले गर्न सक्छ भने हामी पनि त गर्न सक्छौं भन्ने छ उनीहरूलाई। अहिले तीन जना राम्रा खेलाडी छन्। मलाई एकदमै खुसी लागेको छ।'
प्रतिमाका दुई सपना बाँकी छन्।
पहिलो, महिला गल्फर धेरै भएको हेर्ने। विदेश जाँदा समूहमा जाने। र, गल्फ कोर्समा सगर्व नेपालको परिचय दिने।
अर्को सपना हो, ओलम्पिक खेल्ने।
'२०१६ देखि ओलम्पिकमा गल्फ थपिएको छ,' उनले भनिन्, 'जित्न त गाह्रो छ, ओलम्पिकमा सहभागिता जनाउनु नै ठूलो कुरा हो। म अब ओलम्पिकका लागि प्रयास गर्छु। जस्तोसुकै मेहनत गर्न तयार छु।'
तस्बिरहरू: अनिश रेग्मी/सेतोपाटी