नक्कली पासपोर्ट र ट्राभल्स डकुमेण्ट लिएर नेपाल आउने र विदेश जाने अपराधीहरूलाई पक्राउ गर्ने माइण्ड डिभाइस प्रविधि थप चार ठाउँमा प्रयोग गर्न थालिएको छ।
यसअघि नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र यो डिभाइस प्रयोग गर्दै आएको थियो।
नेपालको भैरहवा, रसुवा र रक्सौल नाका तथा पोखराको अध्यागन विभागमा यो डिभाइस जडान गरिएको छ। पोखरामा काम गर्ने प्रहरी र अध्यागन विभागका कर्मचारीलाई बिहिबार तालिम प्रदान गरेर प्रयोगको सुरूवात गरिएको थियो। इन्टरपोलको आइजिसिआइ सिङ्गापुर अन्तर्गतको सहयोगमा माइण्ड डिभाइस प्रयोगमा ल्याइएको नेपाल प्रहरीका इन्टरपोलमा कार्यरत एसपी किरण ब्रजाचार्यले जानकारी दिईन्।
उनले माइण्ड डिभाइसको प्रयोगपछि अपराधीहरूलाई पक्राउ गर्न सहज हुने बताईन्। उनले एक देशमा अपराध गरेर अर्को देशमा लुक्न जाने अपराधीहरूलाई अब सजिलै पत्ता लगाउने बताईन्। तालिममा सहभागीहरूलाई एआईजी कमलसिंह बमले प्रमाण–पत्र वितरण गरेका थिए। खुला सीमाका कारण नेपालमा आउने अपराधीहरूलाई पक्राउ गर्न अब निकै सहज हुने एआईजी बमले दाबी गरे।