सल्यानमा करेण्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। सारदा नगरपालिका वडा नं. ६ खाती गाउँ निवासी ५० वर्षीया मंगली वलीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विकले सेतोपाटीलाई बताए।
बिहिबार बिहान पौने १० बजेतिर घर नजिकैको बारीमा काम गर्दै गर्दा विद्युत पोलबाट करेण्ट प्रवाह भई उनलाई करेण्ट लाग्न पुगेको डिएसपी विकले बताए । करेण्ट लागेर वलीका श्रीमान ६३ वर्षीय ज्ञानबहादुर वली गम्भीर घाइते भएका छन्। उनको अहिले जिल्ला अस्पताल खलंगामा उपचार भइरेको र बाहिरी जिल्लामा रेफरको तयारी भइरहेको पनि डिएसपी विकले जानकारी दिए।
त्यसैगरी, करेण्टबाट जोत्दै गरेको एउटा गोरु समेतको मृत्यु भएको उनले बताए। सुरूमा गोरु जोत्दै गरेका मंगली वलीका श्रीमान ज्ञानबहादुर वली र गोरुलाई करेण्ट लागेको थियो। श्रीमानलाई उद्धार गर्न जाँदा करेन्टको झट्काले हुत्याइ दिएपछि घटनास्थलमै मंगली वलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।