केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिति टुङ्गियो। धादिङ जिल्लाका पच्चीस वर्षिय युवक जन्तीसहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए। एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउनेहरूका लागि भोज तयार हुँदै थियो।
बेहुला पक्षका आफन्त दुलही लैजान आतुर देखिन्थे भने केटीका बाबुआमा पनि छोरीलाई विवाह गरी पठाएर ढुक्क हुने सोचमा थिए।
तर न कसैले दुलही पाए न कसैले ज्वाँई । स्थानीय सामाजिक अभियन्ताहरूले बालिकाको अभिभावकले जबरजस्ती गरिदिन लागेको विवाह रोकिदिएपछि विवाहघरबाट न दुलही अन्मिनइन्, न त विवाहको भोज नै कसैले खान पाए।
स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी बालिकाको विवाह हुँदैछ भन्ने थाहा पाएपछि हत्त न पत्त पुगेका सामाजिक अभियन्ताहरूले विवाहमात्र रोकेनन्, आगामी दिनमा उमेर नपुगी विवाह गरेमा सामाजिक कारवाही गर्ने चेतावनी समेत दिए।
केटापक्षका केही आफन्त र केही स्थानीयको उपस्थितिमा गाउँमा खासै जानकारी नदिई हुन लागिरहेको विवाह स्थानीय बाल संरक्षण समिति गोगनेको अगुवाईमा रोकिएको हो।
केटा र केटी पक्षका बीचमा कुरा छिनोफानो गरेर तीन–चार दिनकै बीचमा विवाहको तयारी गरिएको थियो । विवाहको कुरा छिनिएपछि तनावमा रहेकी बालिकाले कसैलाई आफ्नो विवाह हुँदैछ भन्ने कुरा गरिनन् ।
विद्यालयका एक जना शिक्षकले बालिकालाई तनावको अवस्थामा भेटाएपछि घरबाट जबरजस्ती विवाह गरिदिन लागेको थाहा भएको थियो ।
उमेरै नपुगी विवाह नगर्नका लागि बालिकाको अभिभावकलाई आग्रह गर्दा पनि आफ्नो छोरीको विवाह गर्न अरुले सिकाई रहनु नपर्ने जवाफ फर्काएका थिए ।
शिक्षकमार्फत बाल संरक्षणका क्षेत्रमा क्रियाशील बालसंरक्षण समितिमा कुरा पुग्यो र रातारात बनाइएको योजना असफल भयो।
आफ्नो विवाह रोकिएपछि बालिका दङ्ग छिन् भने सामाजिक अभियानमा लागेका अभियन्ता पनि खुसी छन् । ‘विवाह गर्दिन भन्दाभन्दै जसरी पनि विवाह गर्न घरबाट दबाब आयो।’ बालिकाले भनिन्,‘कलिलै उमेरमा विवाह हुन लागेकाले भविष्य के हुने हो भन्ने चिन्ताले न राम्ररी खान मन लागेको थियो न निदाउँन नै सकेको थिए ।’
‘उमेर नपुगी विवाह नगरिदिन आफ्ना बाबुआमा सहमत बनेकोमा खुसी लागेको उनले बताइन् । ‘अब उमेर पुगेमात्र विवाह गर्ने कुरा बाबुआमाले बुझ्नु भयो, यसैमा म खुसी छु । ’ उनले भनिन् ।
बाल संरक्षण समिति गोगनेका अध्यक्ष रामबहादुर थिङ्ले गाउँमा बालबालिकाको सवालमा रहेर काम गर्ने आफूहरूको अभियान भएकाले बाल विवाह रोक्नु आफ्नो जिम्मेवारी भएको बताए ।
‘बाल विवाह लगायत बालबालिकाको संरक्षणका सवालमा हामी काम गर्ने गर्छौं। ’ उनले भने, ‘कहिलेकाँही हाम्रो अभियान सार्थक बन्दा खुसी लाग्दो रहेछ । ’ विवाह रोक्नका लागि अभिभावकलाई राम्ररी आग्रह गर्दा नमानेपछि प्रहरीमा पुग्ने चेतावनी दिएपछिमात्र विवाह स्थगित भएको समितिका सदस्य बुद्धिमाया मोक्तानले बताइन् ।
‘जसरी पनि एक जना बालिकाको भविष्य अन्धकार हुनबाट रोक्यौं ।’ उनले भनिन्, अब पढाई पूरा गरेर उमेर पुगेपछि मात्रै विवाह हुने भएपछि बालिका पनि तनावमुक्त बनेकी छिन्। ’
बालबालिकाको सवालमा काम गर्न सरकार मातहतको गाउँमै रहेका बाल संरक्षण समितिले बाल संरक्षण सम्बन्धी गरेको यो एउटा प्रतिनिधिमूलक कार्य हो ।
मकवानपुरका गाउँगाउँमा रहेका बाल संरक्षण समिति स्थानीय बाल संरक्षणको सवाल पहिचान गरेर ति सवाल सम्बोधन हुने काममा लागिपरेका छन्। बाल संरक्षण समितिलाई आवश्यक तालिम तथा आर्थिक सहयोग यूनिसेफ नेपालको सहयोगमा बाल कल्याण समाज मकवानपुरले पुर्याउँदै आएको छ।
मकवानपुरको गोगनेका अलावा चुरियामाई, पदमपोखरी, हाडीखोला, नामटार, सरिखेत, फापरबारी, शिखरपुर, राइगाउँ, बेतिनी, धियाल लगायत साविक १५ वटा गाविसमा जोखिममा रहेका बालबालिकालाई घटना व्यवस्थापन कार्यमार्फत संरक्षणका लागि सघाउ पुर्याउने काम भइरहेको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीले जानकारी दिए।
‘स्थानीय बालसंरक्षणको सवाल पहिचान र ति सवाल सम्बोधनका लागि आवश्यक कार्ययोजना गाउँगाउँमा रहेका बाल संरक्षण समितिले बनाउँछन् र ति कार्ययोजना कार्यान्वयनका लागि हामीले आर्थिक सहयोग पुर्याउने गर्दछौं ।’ उनले भने, ‘ यूनिसेफको सहयोगमा बालविवाह, बालश्रम, बालहिंसाविरुद्ध गाउँगाउँमा चलेका अभियान प्रभावकारी बनेका छन्।’
मकवानपुरका विभिन्न साविकका १५ वटा गाविसमा रहेका बाल संरक्षण समितिका सदस्यलाई क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै बालबालिकाको सवालमा जागरणमूलक कार्य भइरहेका छन् ।
नेपालमा बालसंरक्षणको क्षेत्रमा क्रियाशील यूनिसेफ नेपालको सहयोगमा सञ्चालन भइरहेको घटना व्यवस्थापन कार्यमार्फत जोखिममा रहेका बालबालिकाको संरक्षणमा टेवा पुगिरहेको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए।
उनका अनुसार आपतकालीन अवस्थामा आर्थिक सहयोगदेखि आवश्यक जिविकोपार्जन सहयोगमार्फत बालबालिकालाई जोखिममा पर्नबाट रोक्ने काम गरिएको छ । उनले भने,–‘परियोजना अवधिमा ५० जना भन्दा बढी प्रत्यक्ष र अरु धेरै अप्रत्यक्ष रुपमा लाभान्वित हुने काम हामीले स्थानीय बाल संरक्षण समितिमार्फत गरिरहेका छौं ।’ सरकारको नीति अन्तर्गत बालबालिकाको संरक्षणका लागि विभिन्न अभियानसहित आफूहरू क्रियाशील रहेको उनले बताए ।