नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
घटनाभएको जानकारी पाउनसाथ महानगरीय प्रहरी कार्यालयका एआइजी जयबहादुर चन्दले मातहतका निकायलाई प्रमुख नाकाहरु सिल गर्न र त्यहाँ सुरक्षा जाँच कडा गर्न निर्देशन दिएका छन् ।
अहिले उपत्यकाका विभिन्न स्थानमा प्रहरीले चेकजाँच सुरु गरिसकेको छ।
एआइजी चन्दले भने,' घटनाबारे थप अनुसन्धान गर्न मैले अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई भनिसकेको छु, महाशाखाको टोली खटिसकेको छ। छिट्टै अपराधी पक्रन्छौं । '
नाका र उपत्यकाभित्र ५ सय भन्दा बढी प्रहरी चेकजाँजमा खटिरहेको उनले जानकारी दिए। सोमबार दिउँसो बानेश्वरको खरिवोट नजिकै गाडीमा सवार भएका गौचनमाथि गोली भएको थियो ।
उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो। व्यवसायी गौचनसँग ठूलो रकम माग गरिएको र नदिएपछि अज्ञात समूहले उनीमाथि गोली चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।