खानी तथा भूगर्भ विभागले दाङस्थित राप्ती नदीको बगरमा ग्याँस छ वा छैन भन्ने सवालमा अनुसन्धान थाल्ने भएको छ।
देउखुरीस्थित राप्ती नदीको किनारमा केही पहिले प्राकृतिक ग्याँस निस्किएको र आफैँ आगो बलेको खबर सार्वजनिक भएपछि विभागले अनुसन्धान थालेको हो।
ग्याँस निस्किएको राप्तीको बगरमा खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सुधिर रजौरेले स्थलगत अवलोकन गरेको बताए। लमही नगरपालिका वडा नं. ५ कोलही र लमही ६ लंगडीको बीचको बगरमा ग्याँस फेला परेको हो।
गढुवा गाउँपालिका वडा नं. ७ झारवैराको बीच भागमा पर्ने राप्ती नदीको बगरमा पनि त्यस्तै ग्याँस निस्किएको शनिबार स्थलगत अवलोकनका क्रममा स्थानीयले जानकारी दिएको उपमहानिर्देशक रजौरेले सेतोपाटीलाई जानकारी दिए ।
उनले त्यहाँ पुग्दा जमिन मुनिबाट ग्याँस निस्किएको सत्य सावित भएको जानकारी दिएपनि तर, त्यो कुन ग्याँस हो भन्ने यकिन गर्नका लागि भने विस्तृत अध्ययन आवश्यक रहेको बताए । ‘यो मिथेन ग्याँस हो कि, पेट्रोलियम ग्याँस नै हो,’ त्यो भने अध्ययनपछि मात्रै यकिनका साथ भन्न मिल्छ।’ उपमहानिर्देशक रजौरले सेतोपाटीलाई भने ।
तर, उनले राप्तीको बगरमा फेला परेको ग्याँस काठमाडौंमा फेला परेको जस्तै हो। त्यो मिथेन हुन सक्ने र सुदूरपश्चिमको दैलेखमा फेला परेको जस्तै हो भने त्यो पेट्रोलियम ग्याँस नै हुने जानकारी दिए ।
यसअघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारीस्थित किनारमा पनि यस्तै ग्याँस फेला परेको थियो। वर्षौं पहिले त्यहाँ ग्याँस उत्पादन गर्नका लागि सरकारले भवन निर्माण गरेपनि ग्याँस निकाल्ने काम भने भारतकै कारण प्रभावित बनेको जानकारहरू बताउँछन् ।