नेपालीहरूको महान चाड बडादशैंको कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी सम्पन्न हुँदैछ।
असोज ५ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको दशैंको आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिने धार्मिक परम्परा रहिआएको छ।
कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। तालबाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू पोखरा आएका छन् । दर्शनका लागि फेवातालमा डुंगा चढेर मन्दिर जानेहरूको बिहानैदेखि दर्शनार्थीको घुइँचो लागिरहेको छ।
घुइँचो बढेपछि डुंगा व्यवसायीहरूले समेत थप डुंगाको व्यवस्था गरेर दर्शनार्थीहरूलाई ओहोर दोहोर गराएका छन्। पूर्णिमाका दिन मात्रै करीब २० हजार बढीले दर्शनार्थीहरूले मन्दिरको दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले जानकारी दिए।
फेवातालको बीचमा रहेको यो मन्दिरमा दशैं पूर्णिमामा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने पूरानो मान्यताका कारण पनि दर्शनार्थीहरूले दर्शन गरेको उनको भनाई छ । अन्य दिनको तुलनामा आजको दिन यस मन्दिरको महिमा बढी भएकोले नै आजको दिन मेला लाग्ने गरेको हो।
यसअघि विन्ध्यबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा भीड हुने गरे पनि आजको दिन भने फेवातालको बीचमा रहेको मन्दिर तालबाराहीको दर्शन गर्नैपर्ने मान्यताले पुग्ने गरेका छन्।
दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैं घर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा तालबाराही मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ।