बुटवल–तानसेन सडक खण्डको दोभान नजिकै खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । एक जना महिला घाईते भएकी छन्। पाल्पा तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगे पहिरोमा परी एउटा कार र ट्रक पुरिएका हुन्।
शुक्रबार साँझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक शनिबार बिहान एकतर्फी खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जादै गर्दा पुनः पहिरो खसेको थियो ।
पहिरोमा ना. ३ ख ६१९२ नम्बरको ट्रक र लु १ च ७९९४ नम्बरको कार पुरिएका हुन्। घटनामा परी कारका चालक रूरू गाउँपालिका बलेटक्सारका २६ वर्षिय अर्जुन भन्ने यमलाल ज्ञवाली र गुल्मीकै काउलेका तिलकराम भण्डारीको ज्यान गएको छ।
त्यस्तै ट्रक चालक तिनाउ गाउँपालिका ४ पाल्पाका माधव रानाको ज्यान गएको छ । कारमा सवार भण्डारी र ट्रक चालक रानाको घटनास्थलमै र कार चालक ज्ञवालीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै कारमा सवार गुल्मी काउलेकी राधिका भण्डारी सामान्य घाईते भएकी छन् । राधिका मृतक तिलकरामकी श्रीमती हुन् ।
सडकको बिचमै ठूला ढुंगा झरी कार र ट्रक च्यापेर सडक अवरुद्ध भएपछि दशैंका लागि पहाडी जिल्ला हिडेका यात्रुहरु बिहानदेखि अलपत्र परेका थिए। अहिले ढुंगा र पहिरोमा परेका कार र ट्रक हटाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।
वर्षा होस् या हिउँद जुनसुकै याममा पनि सिद्धवावा सडक खण्डमा दैनिकजसो साना ठूलो पहिरो खस्ने गर्दछ । पहिरोमा परी हरेक वर्ष एकदुई वटा गाडी पुरिने तथा चार पाँच जना यात्रुको ज्यान जाने गरेको छ।