ललितपुर प्रहरीले यसपाली टोलसँगै दसैं मनाउने भएको छ। चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर ललितपुरले टोलबासीलाई नै सुरक्षा दिएर दसैं मनाउन लागिएको बताए।
'चाडपर्वमा ललितपुरबासीलाई सुरक्षा दिनु हाम्रो पहिलो कर्तव्य हो, 'परिसरका प्रमुख एसएसपी गणेश ऐरले भने, 'यस वर्ष हरेक टोल टोलमा प्रहरी पुगेर स्थानीयलाई २४ सै घन्टा सुरक्षा दिन्छ। '
यस वर्ष ललितपुरमा कार्यरत कुनै पनि प्रहरीलाई विदा नदिइने उनले बताए। ललितपुरमा १२ सय प्रहरी कार्यरत छन् ।
ती मध्ये ३ सय जना चुनावका लागि तराई क्षेत्रमा खटिएका छन् । दसैं र तिहारका लागि ललितपुरमा यसपाली ९ सय प्रहरी खटाइने उनले बताए।
चाड पर्व सुरक्षा योजना अन्तर्गत ललितपुर प्रहरी परिसरले १० बुदेँ सुरक्षा रणनीति तय गरेको छ। जसमा बैंक तथा बित्तिय संस्थाको सुरक्षा, मेला पर्व भिडभाड हुने स्थानको सुरक्षा, चोरी नियन्त्रणमा विशेष व्यवस्था, जुवा तास नियन्त्रण, हिट एण्ड रन एक्सिडेन्ट नियन्त्रण, मापसे, गुन्डागर्दी नियन्त्रण, सरकारी कार्यालयको सुरक्षा, आतिसवाजीमा नियन्त्रण, र टोल टोलमा पुगेर माइकिङ गर्ने लगायतका छन् ।
चिठ्ठा खेलाउने र खेल्नेलाई पनि कारबाही हुने डिएसपी नरेन्द्र चन्दले बताए। साथै उनले जुवा खेल्ने र खेलाउनेलाइए नछाडिने बताए। ललितपुरका विभिन्न स्थानमा जुवा खालहरु संचालनमा रहेको र १० दिनकाबीचमा ७ स्थानमा प्रहरीले छापा मारिसकेको छ।
एक अर्को प्रसंगमा एसएसपी ऐरले ललितपुरमा संचालित अवैध ढुंगाखानी बन्द गराउने बताए।
'जिल्ला विकास समिति, जिल्ला वन कार्यालय लगायतका स्थानीय निकायले ढुंगा खानी नियमन गर्छ, त्यसमा हामीले सुरक्षा दिने हो,' एसपी ऐरले भने, 'कुनै अवैध छ, नियम विपरित संचालन छ भने कारबाही गछौं ।'
ढुंगाखानी संचालकहरुसँग कुनै प्रहरीले लेनदेन गरे कारबाहीको दायरमा ल्याएरै छाड्ने उनले चेतावनी दिए।