रोल्पास्थित थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई अपहरणमुक्त गरिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव)का केन्द्रीय सदस्य बलबहादुर वली (सतल)ले सेतोपाटीलाई त्यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष घर्तीलाई शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारहरूको रोहवरमा मुक्त गरिएको केन्द्रीय सदस्य वलीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष घर्तीलाई नेकपाका कार्यकर्ताले २९ गते राति अपहरण गरेका थिए भने उनलाई दुई दिन पछि शनिबार अपहरणमुक्त गरिएको जानकारी दिइएको छ ।
अध्यक्ष घर्ती प्रहरीको सम्पर्कमा आइसकेको र आजै आफन्तको जिम्मा लगाउने प्रहरीले बताएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थवाङ गाउँपालिकाको प्रथम अधिवेशन गर्न जान नपाउन् भनेर त्यहाँका गाउँपालिकाका अध्यक्ष घर्तीलाई अपहरण गरिएको उक्त पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।
तर, अध्यक्ष दाहालले शनिबार थवाङ पुगेर प्रथम गाउँसभालाई सम्वोधन गरेका थिए । उनी फर्किएको केही घण्टापछि अपहरित गाउँपालिका अध्यक्ष घर्तीलाई विप्लवका कार्यकर्ताले मुक्त गरेका थिए ।