आन्द्रामा क्यान्सर भएर थलिएकी फूलकुमारी राजवंशीको स्वास्थ्योपचारका लागि क्यानडाबाट उमादेव राई र नरमाया राईले सहयोग रकम प्रदान गरेका छन् ।
बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी फूलकुमारीको आर्थिक अवस्था कमजोर भएको र दैनिकी टार्न नै समस्या भएको समाचार राष्ट्रिय समाचार समितिले यसअघि प्रकाशन गरेपछि उनलाई फलफूल र पौष्टिक आहारका लागि राई दम्पतीले सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
राई दम्पतीले पठाएको सहयोग रकम गौरीशंकर माध्यमिक विद्यालयकी शिक्षक रुपा राईले सामाजिक अभियन्ता टोम राजवंशी र उनकी आमालाई प्रदान गरेकी हुन् ।
फूलकुमारीको उपचारका लागि राजवंशीलगायतका केही युवाले फेसबुकमार्फत ‘फूलकुमारी बचाऊ अभियान’ सञ्चालन गरेका थिए । अभियानबाट दुई लाख ४० हजार रुपैयाँ जुटेपछि फूलकुमारीको आन्द्रामा भएको क्यान्सरको उपचार गरिएको थियो । उपचारपछि उनले नयाँ जीवन पाएकी छिन् ।
राससले ‘फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन’ शीर्षकमा समाचार प्रकाशन गरेपछि राई दम्पतीले मात्र होइन बाह्रदशी गाउँपालिका–७ का अध्यक्ष मित्रप्रसाद भट्टराईले पनि बिहिबार उनी अध्ययनरत विद्यालय गौरीशंकर माविमा पुगेर १२ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उनले विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, अध्यक्ष महेशकुमार झा, फेसबुक अभियान सञ्चालक टोम राजवंशी र फूलकुमारीकी आमालाई सो रकम संयुक्तरुपमा हस्तान्तरण गरे ।
३८ विद्यार्थीलाई सौर्य टुकी प्रदान
यसैबीच, कनकाई नगरपालिका–७ दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत ३८ जना गरीब, असहाय, जेहेन्दार तथा विद्युत्को पहुँच नभएका विद्यार्थीलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ‘शिक्षाको लागि उज्यालो कार्यक्रम’ अन्तर्गत विद्यार्थीलाई टुकी वितरण गरेको हो । स्रोेतव्यक्ति मेदनी पाठकको प्रमुख आतिथ्यमा विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको विद्यालयका शिक्षक पूर्णबहादुर कटुवालले बताए । रासस