अपहरणमा परेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीको खोजी गर्न राप्ती अञ्चल प्रहरी प्रमुख एवं एसएसपी दीलिप चौधरी नेतृत्वको टोली केही बेरमा रोल्पा जाने तयारी गरेको छ ।
प्रदेश नं. ५ का प्रहरी प्रमुख एवं एआईजी मिङमार लामाले सेतोपाटीलाई त्यस्तो जानकारी दिएका हुन् ।
अपहरणमा परेका गाउँपालिका अध्यक्ष घर्तीको खोजी कार्यका लागि आफूले हेलिकोप्टर मागेको र त्यो संभव नभए गाडीबाटै भएपनि एसएसपी चौधरीको नेतृत्वमा प्रहरी टोली रोल्पा जाने तयारीमा रहेको एआईजी लामाले बताए ।
उनले अध्यक्ष घर्तीको खोजी गर्न रोल्पा र रुकुमबाट व्यापक मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए । त्यसैगरी सीमा जोडिएका जिल्लाहरू प्यूठान, दाङ, सल्यान लगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको एआईजी लामाले बताए । ‘रोल्पामा मात्रै नेपाल प्रहरीको सात वटा यूनिटहरू खटिएका छन्,सशस्त्र प्रहरी पनि त्यतिकै मात्रामा परिचालन गरिएको छ’ उनले भने ।
थवाङ २ कोईलावाङस्थित ससुराली घरमा गएको समयमा गाउँपालिका अध्यक्ष घर्ती बिहिबार रातको साढे ११ बजेतिर बाहिर निस्किएको समयमा नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले घर्तीलाई अपहरण गरेर लगेको लामाले बताए ।
१०/१२ जनाको संख्यामा रहेका नकापधारी व्यक्तिहरूले घर्तीलाई नियन्त्रणमा लिएर लगेको भन्ने जानकारी प्राप्त भएको एआईजी लामाले बताए ।
घर्तीको पत्निले मेरो श्रीमानलाई किन र कहाँ लैजान लाग्नु भएको हो ? भन्ने प्रश्न गर्दा अपहरणकारीले भनेका रहेछन् ‘आत्तिनु पर्दैन, हामी उहाँलाई सम्मान पूर्वक राख्ने छौँ, हाम्रो उद्धेश्य शनिबार प्रचण्डको कार्यक्रम असफल तुल्याउनु मात्रै हो ।’
शनिबार थवाङमा प्रथम गाउँसभा उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पा आउने बताइएको छ ।
त्यही कार्यक्रम विफल तुल्याउनका लागि अर्थात प्रचण्डलाई रोल्पा प्रवेशमा रोक लगाउनका लागि गाउँपालिका अध्यक्ष घर्तीलाई अपहरण गरेको अनुमान प्रहरीले गर्दै आएको छ ।
अपहरित गाउँपालिका अध्यक्ष घर्ती माओवादी लडाकुका पूर्व कमाण्डर समेत रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
घर्तीको खोजीमा रोल्पा जान लागेको एसएसी सहितको सुरक्षा टोली शनिबार पूर्व प्रधानमन्त्री प्रचण्डको कार्यक्रम समापनपछि मात्रै दाङ फर्किने एआईजी लामाले जानकारी दिए ।
यो पनि
रोल्पाको थवाङ गाँउपालिकाका अध्यक्ष अपहरणमा