तानसेन नगरपालिकाले चालू आवमा ६९ करोड ११ लाख ३१ हजार ९ सय ४७ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले आन्तरिक आयमा चार करोड ६४ लाख ८० हजार रुपैयाँ , नेपाल सरकारको निशर्त अनुदान २३ करोड ८२ लाख ४७ हजार रुपैयाँ , गत आवको नगरपालिकाको बाँकी रकम छ करोड ९२ लाख १० हजार ९ सय ४७ रुपैयाँ गरी कुल निशर्त अनुदान ३५ करोड ३९ लाख ३७ हजार ९ सय ४७ रुपैयाँ , सशर्त अनुदान १९ करोड २९ लाख ४४ हजार रुपैयाँ , सामाजिक सुरक्षा पाँच करोड रुपैयाँ , दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान सात करोड १२ लाख ५० हजार रुपैयाँ , कन्टीन्जेन्सीबाट आम्दानी ३० लाख रुपैयाँ र जनसहभागिताबाट एक करोड ५० लाख रुपैयाँबाट बजेट विनियोजन गरेको हो ।
आव २०७४/७५ मा कुल निशर्त १३.१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा एक करोड ६८ लाख रुपैयाँ थप प्रक्षेपण गरिने बिहिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख अशोककुमार शाहीले बताए । १४ वडा कार्यालय सञ्चालनका लागि कुल एक करोड ७७ लाख ७८ हजार ७ सय रुपैयाँ र नपामा ४ करोड ४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा एक करोड रुपैयाँ कर्मचारी अवकासमा खर्च गर्नेछ ।
नगरपालिकाले प्रत्येक वडालाई चालू र पूँजीगत खर्च १२ लाख ७० हजार रुपैयाँ र ४५ लाख रुपैयाँ गरी कुल आठकरोड सातलाख ९९ हजार ७ सय ९२ रुपैयाँ बजेट निशर्त बजेटको २२.८२ प्रतिशत रहेको छ ।
वडा र नगर कार्यपालिका व्यवस्थापनका चार करोड ५७ लाख रुपैयाँ , सूचना र सञ्चार क्षेत्रमा २० लाख रुपैयाँ , संस्थागत विकासका लागि ७५ लाख रुपैयाँ , सम्पदा संरक्षणमा ३३ लाख रुपैयाँ , गरिबी न्यूनीकरणमा ६७ लाख रुपैयाँ , वातावरण प्रवर्द्धनमा ३० लाख रुपैयाँ , आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवर्द्धनमा २५ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख शाहीले बताए ।
विपन्न परिवारलाई निःशुल्क बीमामा २५ लाख रुपैयाँ , दिगो सहरी विकासका लागि १२ करोड १६ लाख रुपैयाँ विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा एक करोड ८५ लाख रुपैयाँ, आर्थिक पूर्वाधारतर्फ २६ लाख रुपैयाँ, संस्थागत विकासमा ४३ लाख रुपैयाँ, राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा ३८ लाख रुपैयाँ, बस्ती विकास सम्भाव्यता अध्ययनका लागि ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको शाहीले बताए ।
तानसेनको खानेपानी उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरप्रमुख शाहीले यस वर्ष सडक वर्षको रुपमा तानसेनलाई चिनाउने बताए । ‘जनतासँग प्रमुख’ रेडियो कुराकानीसमेत नीति, बजेट तथा कार्यक्रममा रहेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले जानकारी दिएका छन् । रासस