स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधीहरूले कार्यभार सम्हालिसकेका छन् ।
संघीय संरचना अनुसार सबै तहमा आगामी वर्षका लागि भनेर नीति तथा कार्यक्रम र योजना समेत प्रस्तुत गरिसकेका छन् । बागलुङका १० वटा स्थानीय तह अन्तरगत केही गाउँपालिका र नगरपालिकामा प्राविधिक कर्मचारी नहुँदा विकास निर्माणका ठोस योजनाहरू निर्माण गर्न सकिएको छैन ।
निर्वाचन सम्पन्न भएको ४ महिना वितिसक्दा पनि स्थानीय सरकारले गर्ने स्पष्ट कार्यविधि नबन्दा अन्योलता रहेको जनप्रतिनिधिहरू बताउँछन् । गाउँपालिकामा सबै किसिमका योजनाहरू गएका तर प्राविधिक नपुगेकाले योजनाहरू संचालनमा कठिनाई परेको छ ।
तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने ‘हाम्रो गाउँपालिकामा अझै प्राविधिक कर्मचारी पुगेका छैनन्,’ अध्यक्ष बुढाले भने, ‘इञ्जिनियरहरू गाउँ नगएसम्म बजेट कार्यान्वयनको प्रक्रिया सुरू हुन सक्दैन । अहिले काम पुरै ठप्प छ ।
अहिले केबल सिफारिस दिने काम मात्र हुने गरेको बरेङ गाउँपालिकाका कार्यकारी अधिृकत बैकुण्ठ पौडेलले बताए ।
‘गाउँपालिकामा एकजना इञ्जिनियर जानुभएको छ, उहाँको पनि करार अवधि असोज मसान्तसम्म छ, त्यसपछि के हुने हो थाहा छैन’- पौडेलले भने, ‘अहिले हामी कर्मचारीलाई तलब खुवाउने र सिफारिसका काम बाहेक केही पनि गर्न सकिरहेका छैनौँ ।’
स्वास्थ्य र भेटनरीका प्राविधिकहरू अधिकांश स्थानमा खटिएको र अन्य विषयगत कार्यालयका कर्मचारीहरू सबै ठाउँमा पुगिनसकेका जनप्रतिनिधिको गुनासो रहेको छ । गाउँ-नगरमा सम्बन्धित विषयका जानकारी कर्मचारी नहुँदा प्रायः योजना तथा काम ठप्प छन् ।
कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले सबै तहमा प्राविधिक कर्मचारीहर पठाएको बताए पनि कार्यस्थलमा पुगिसकेका छैनन् । स्थानीय विकास अधिकारी आचार्यले जिल्लामा कुन- कुन कार्यालय रहने नरहने भन्ने टुङ्गो नलाग्दा समस्या भएको बताए । जिल्लामा कुन कार्यालय रहने कुन नरहने भन्ने टुङ्गिएको छैन ।’उनले भने, ‘यहाँका कार्यालयलाई कर्मचारी पठाईदेउ भन्दा कर्मचारी यही थोरै छन् भन्ने जवाफ आउँछ ।’ प्राविधिक कर्मचारीहरू सबै गाउँ÷नगरमा पठाइसकिएको उनले बताए ।
जिल्लामा रहेका सरकारी कार्यालयहरू कतिपयले स्थानीय स्तरबाट प्रवाह गर्ने सेवा दिन सुरू गरेका छन । तर,अधिकांश कार्यालयहरू भने स्थापना भएका छैनन् । जिल्लाको १० स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन भने हुन सकेको छैन । फलस्वरुप आर्थिक वर्षमा गर्नुपर्ने योजनाहरू कार्यान्वयनमा अन्योलमा देखिन्छ। स्थानीय तहमा कर्मचारी अभावले एक त जनताको आशा र अपेक्षा सेलाउदैँ गएको पाईन्छ भने अर्कोतिर योजना कार्यान्वयन नहुने हो कि भन्ने अन्योलता बढेको देखिन्छ ।
स्थानीय तहमा कर्मचारीको अभाव हुँदा यहाँका वडाध्यक्षले सचिवको काम गर्न बाध्य छन् । जिल्लाको बाग्लुङ नगरपालिका बाहेक अन्य स्थानीय तहमा आवश्यकता अनुसार वडा सचिव नहुँदा सामान्य सिफारीस लिन पनि स्थानीयले सास्ती व्यहोर्नु परेको छ । एउटै वडा सचिवले विभिन्न वडाको जिम्मेवारी लिँदा यहाँका जननिर्वाचित वडाध्यक्षहरूले सचिवको काम गर्नुपरेको छ ।
पुनःसंरचनाका क्रममा जिल्लालाई १० स्थानीय तह र ८५ वडामा विभाजन गरिएको थियो । ८५ वडामा अहिले ४८ जना सचिवहरू रहेका छन । जिल्लाको बाग्लुङ नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा तोकिए बमोजिम सचिवहरू छैनन् । यहाँका एउटै सचिवले पाँच वटा वडाको जिम्मेवारी लिएका छन् । जिल्लाको पश्चिममा रहेको ९ वटा वडामा विभाजित ढोरपाटन नगरपालिमा दुई जना मात्र वडा सचिव छन् ।
गाउँमा वडा सचिव नहुँदा काम गर्न निकै अप्ठ्यारो हुने गरेको जनप्रतिनिधिहरूको गुनासो छ । जिल्लाको १० स्थानीय तहमध्ये बाग्लुङ नगरपालिका बाहेक अन्य सबैमा कर्मचारीको अभाव छ । नयाँ गठन भएका नौ वटा स्थानीय तह कार्यकारी अधिकृत, लेखापाल र एक जना नायब सुब्बा भरमा छन् । कतिपय तहमा लेखापाल पनि छैनन् ।