सातदिनसम्म मनाइने इन्द्रजात्रा नानीचाःया जात्रा मनाए सँगैं समापन भएको छ। कुमारी, भैरव र गणेशको रथ रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कुमारी घरमा पुर्याइ भित्र्याएपछि जात्रा सकिएको हो।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि सुरू भएको जात्रामा गणेश, भैरव र कुमारीको हातबाट राष्ट्रपति विद्या भण्डारीले टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्।
काभ्रेको नालाबाट ल्याइएको काठलाई इन्द्रध्वजा मानेर ठडयाइन्छ। संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार इन्द्रध्वजालाई नेवारी भाषामा यसी भनिन्छ। यो जात्राको अर्थ काठसँग जोडिएको छ। वज्राचार्यका अनुसार, य भनेको रमाइलो, मन पर्ने हो, सी भनेको काठ हो। वज्राचार्य भन्छन्, ‘काठ ठडयाएपछि सुरु हुने रमाइलो जात्रा हो इन्द्रजात्रा।’
हरेक वर्ष राष्ट्रप्रमुखले यि जिवित देवी र देवताको हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा अनुरुप राष्ट्रपति भण्डारीले टीका तथा प्रसाद ग्रहण गरेकी हुन्।
जात्राकै लाखे नाच, हलचोक भैरवको नाच र पुलुकिसी नाच देखाइएको थियो।
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। यी ८ दिनमध्ये १ दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ। प्रसादको रुपमा कथःथ्व (जाँड) खुवाउने चलन छ। प्रसाद खान चाहने महिलाहरु लाइन लाग्नु पर्छ। प्रसाद रातको समय खुवाइन्छ।
बिहीबार राति पनि प्रसाद खान सैयौं महिलाहनुमानढोकामा उपस्थित भएका थिए। उनीहरु प्रसाद खान तँछाडमछाड गरिरहेका थिए। श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो।
पौराणिक कथाअनुसार आफ्नी आमालाई बसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए। अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको मान्यता रहि आएको छ।
https://www.youtube.com/watch?v=_lNfuyjVbVM&t=111s