पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय २९ लाख रुपैयाँको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ।
सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब १४ लाख चार हजार रुपैयाँ, सहारा क्लबको रु १३ लाख ४९ हजार, बाबा फाउण्डेशन नेपालको ६० हजार रुपैयाँ , बिबी निर्माण सेवा चाउथेको ५५ हजार ५५५ रुपैयाँ र गुरुङ स्टोन सप्लायर्सको ३० हजार रुपैयाँको आर्थिक सहयोगमा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो।
व्यस्त बजार पृथ्वीचोकमा सर्वसाधारलाई सुविधा पुर्याउने उद्देश्यका साथ निर्माण गरी सञ्चालनमा ल्याइएको अपांगतामैत्री सो शौचालयमा स्नानगृह पनि छ। एकै पटकमा २२ जनाले दिसापिसाब गर्ने सुविधा रहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए।
महिला र पुरुषका लागि छुट्टाछुट्टै तथा अपांगता भएकाका लागि एउटा कक्षको व्यवस्था गरिएको सो शौचालय प्रवेशमा प्रतिव्यक्ति रु पाँच तथा अपांगता भएको व्यक्तिको हकमा निःशुल्क गरिएको महासचिव केशवराज बरालले जानकारी दिए।
विभिन्न स्थानबाट बसमा आउने यात्रुलाई सुविधा पुर्याउने अभिप्रायले क्लबले लगभग डेढ दशकदेखि शौचालय सञ्चालनमा ल्याइएकामा जीर्ण अवस्थामा पुगेपछि पुनःनिर्माण गरिएको हो। रासस