कुश्माबजारमा ठूला पशु चौपाया बध गर्ने अत्याधुनिक पशु बधशाला निर्माण भएको छ।
कुश्मामा झण्डै दुई करोड रुपैयाँको लगानीमा बसेल पशु बधशाला निर्माण भएको हो। बधशाला दशैँअगावै सञ्चालनमा आइसक्ने भएको छ।
बसेल ताजा मासु पसलका सञ्चालक शिवलाल सार्कीले सञ्चालन गर्न लागेको पशु बधशाला ठूला पशु बध गर्ने पश्चिमाञ्चलकै सबैभन्दा ठूलो र अत्याधुनिक बधशाला हो। सार्कीले कुश्माबजारमा व्यवस्थित बधशालाको अभावमा फोहर ठाउँमा असुरक्षित हिसाबले पशु बध गर्दै आएका कारण व्यवस्थित र अत्याधुनिक बधशाला निर्माण गरिएको बताए।'असुरक्षित हिसाबले फोहर ठाउँमा बध गरिएको मासु खाँदा स्वास्थ्यमा असर परिरहेको छ', उनले भने, 'कुश्मालगायत बागलुङ, बेनी र पोखरासम्म स्वस्थ्यकर मासु उपलब्ध गराउन आधुनिक बधशालाको आवश्यकता अब पूरा भएको छ।'
कुश्माबजारको जिरो किमी नजिक निर्माण भएको बधशाला ठूला पशुलाई बध गर्ने आधुनिक तरिकादेखि सफा गर्ने र काट्ने काममा पनि पूरै सुरक्षित र आधुनिक प्रविधि जडान गरिएको छ। यहाँ तयार गरिने मासु डिफ्रिजमा राखेर पोखरासम्म पठाइने र बिक्री गर्ने व्यवस्था मिलाइएको सार्कीले बताए।
बधशालामा सार्कीको जमिन र लगानी गरी एक करोड ५० लाख खर्च भइसकेको छ भने पशुपक्षी बजार प्रवद्र्धन आयोजनाले ५० लाख रुपैयँ अनुदान दिएको छ। बधशाला सञ्चालनमा आएपछि दैनिक २० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य उनले राखेका छन्।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सुधीरकुमार थापाले राँगा भैँसीजस्ता ठूला पशुबध गर्ने पश्चिमाञ्चलकै आधुनिक र ठूलो पशु बधशाला कुश्मामा निर्माण भएको बताए।
अहिलेसम्म कुखुरा बध गर्ने कोल्डस्टोर्स धेरै निर्माण भए पनि ठूला पशु बधशाला निर्माणमा ध्यान नगएकाले कुश्मामा शुरु गरिएको उनले बताए। रासस