अभिनेत्री करिश्मा मानन्धर ९ कक्षा भर्ना भएपछि वाङ्देन लामा ‘नोस्टाल्जिक’ भएका छन्।
वाङ्देनकी आमा पनि उनी जन्मेपछि नै १० कक्षा भर्ना भएकी थिइन्। त्यसपछि कक्षा १२ सम्म पढिन्। पढाइप्रति आफ्नी आमाको जस्तै लगाव र दृढता उनले करिश्मामा देखेका छन्।
वाङ्देन मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलका प्रिन्सिपल हुन्, जहाँ करिश्मा छुटेको पढाइलाई निरन्तरता दिँदै छिन्।
‘मेरी आमाले ढिलो एसएलसी दिनुभयो, १२ कक्षासम्मै पढ्नुभयो, त्यही भएर करिश्माजीको दृढताले मलाई भित्रसम्मै छुन्छ,’ उनले बुधबार सेतोपाटीसँग भने, ‘उहाँले मास्टर्स गर्छु भन्नुभएको छ, आफूजस्तै विभिन्न कारणले पढाइ छुटेकाको निम्ति प्रेरणा बन्न सक्नुहुन्छ, हामीले उहाँको कदमलाई निरन्तरता दिन प्रेरित गर्नुपर्छ।’
नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री करिश्मा सुन्दरताका हिसाबले ‘एभरग्रिन’ मानिन्छिन्। उनी अभिनयमा मात्र होइन, फिल्म निर्माणमा पनि सक्रिय छिन्।
यति हुँदाहुँदै १४ वर्ष उमेरमै स्कुले पढाइ छाड्नुपर्दाको घाउले उनलाई कहिल्यै छाडेन। नयाँशक्ति पार्टीमा आबद्ध भएपछि बैठकमा एक नेताले ‘यी काम न काजका कलाकार ...’ भनेर होच्याए। यो कुरा करिश्माको मुटुमा तीर बनेर गड्यो। पढ्न नसकेको पुरानो घाउ आलो बनेर चहर्याउन थाल्यो। त्यही बेला उनले फेरि स्कुल भर्ना भएर पढाइ थाल्ने निर्णय गरिन्।
सात कक्षा सकेकी करिश्माले २०७३ चैतमा त्रिवेणी स्कुलबाट आठ कक्षाको जिल्लास्तरीय जाँच पास गरिन्। उनी त्यही स्कुलमा ९ कक्षा पढिरहेकी छन्।
करिश्माको स्कुल भर्नाले धेरैलाई चकित तुल्यायो। धेरैले उनलाई शुभकामना दिए। कुरा काट्ने पनि निस्किए। करिश्मालाई तिनको परवाह छैन। केही नयाँ सिक्ने र नयाँ अनुभव बटुल्ने उनको धोको छ। विगतमा पढाइ छुटाएका एकाधले मात्र आफ्नो सिको गरे धन्य सम्झिने उनी बताउँछिन्।
सिनेमाको पर्दामा लामो समयदेखि दर्शकको मन जित्दै आएकी करिश्माको प्रवेशले कक्षाकोठामा कस्तो प्रभाव पारेको होला?
उनलाई पढाउनेहरू के सोचिरहेका होलान्?
उनीसँगै कक्षाकोठामा बस्नेहरू आफ्ना यी नयाँ साथीसँग कत्तिको नजिक हुँदै छन्?
करिश्माको नयाँ स्कुले जीवनसँगै हामी यी जिज्ञासा बोकेर बुधबार प्रिन्सिपल वाङ्देनकहाँ पुग्यौं।
‘सुरुमा त मलाई पनि उहाँले पढाइलाई गम्भीरतापूर्वक लिनुभएको छ भन्ने लागेको थिएन। उहाँ मिडियामा समाचार बन्न मात्र स्कुल आउनुभएको हो कि भन्ने चिन्ता थियो,’ वाङ्देनले भने, ‘स्कुलमा निरन्तर आउन थाल्नुभएपछि बल्ल मेरो चिन्ता हट्यो।’
'टिनएज' विद्यार्थीमाझ कतिपय शिक्षकभन्दा बढी उमेरकी करिश्मा कक्षामा सबैका अभिभावकजस्तै बनेकी वाङ्देन बताउँछन्। उनका अनुसार बाहिर जतिसुकै ठूलो ‘सेलेब्रिटी’ भए पनि स्कुलभित्र करिश्मा रोल नम्बर ११ की विद्यार्थी हुन्। उनलाई स्कुलले ‘ड्रेस’ नलगाउने र आफ्नै कारमा आउजाउ गर्नेबाहेक अरू विद्यार्थीभन्दा कुनै सहुलियत दिएको छैन। कहिलेकाहीँ पार्टी बैठक वा अन्य कार्यक्रममा जानैपर्ने भए उनले अरू विद्यार्थीजस्तै छुट्टी लिनुपर्छ। छुट्टी लिन उनी प्रिन्सिपल वाङ्देनकैमा पुग्छिन्।
‘पार्टीले बोलाएको छ भन्नुहुन्छ,’ वाङ्देनले भने, ‘म विदाको निवेदन लेखेर जानुस् भन्छु, उहाँ लेखेर दिनुहुन्छ।’
करिश्मा आफैं पनि सहपाठीहरूले भन्दा बढ्ता सहुलियत लिन चाहँदिनन्। नयाँ स्कुले जीवन पूर्णतया विद्यार्थी बनेर बिताउने उनको इच्छा छ।
यही सोचका साथ उनी दिनहुँ स्कुल आएर कक्षा लिइरहेकी छन्। अरू विद्यार्थीजस्तै बिहान ९ बजे नै स्कुल पुग्छिन्। धेरै विद्यार्थी स्कुल बसमा घर ओहोरदोहोर गर्छन्, करिश्माले भने आफ्नो निजी कारलाई नै स्कुलबस बनाएकी छन्।
उनी दिनहुँ शिक्षकले लिने हाजिरीमा उपस्थित हुन्छिन्। बिहानदेखि ३ बजेसम्म कक्षाकोठामै बसेर पढ्छिन्। आवश्यक पर्दा सहपाठीहरूलाई विभिन्न कुरा सिकाउँछिन् र आफू पनि सिक्छिन्। गोदावरी घरबाट स्कुल आउँदा उनी आफूभन्दा साना उमेरका विद्यार्थीजस्तै ‘टिफिन’ मा खाजा बोकेर ल्याउँछिन्।
‘स्कल परिसरभित्र उहाँ ‘सेलेब्रिटी’ होइन, साँच्चिकै विद्यार्थी हो,’ वाङ्देनले भने।
उनका अनुसार करिश्माको उपस्थितिले कक्षाकोठा नै शान्त भएको छ। शिक्षकहरू अनाहक विद्यार्थीसँग जिस्कँदैनन् र विद्यार्थी पनि पढाइमा एकाग्र हुन्छन्। शिक्षकहरू पिट्ने खालका रहेछन् भने पनि करिश्माको अगाडि हच्किने गरेको वाङ्देनको भनाइ छ।
विद्यार्थीका रूपमा करिश्मा अनुशासित रहेको उनी बताउँछन्। कक्षाकोठामा होहल्ला गर्दिनन्। बरु अन्य विद्यार्थीसँग समन्वय गरेर पढछिन्। अरू विद्यार्थीजस्तै उनलाई पनि ‘होमवर्क’ दिइन्छ। उनी धेरैजसो अवस्थामा प्रत्येक होमवर्क पूरा गर्छिन्। कक्षाका अरू विद्यार्थीसँग नोट मागेर सार्छिन् पनि।
’कम समयमै सबै विद्यार्थीसँग उहाँको राम्रो मित्रता गाँसिएको छ,’ वाङ्देनले भने, ‘त्रिवेणी स्कुलको निम्ति पनि उहाँ हाम्रो विद्यार्थी मात्र हो।’
हिजोआज स्कुले केटाकेटी स्मार्टफोन र ल्यापटपतिर झुम्मिएका प्रशस्तै देखिन्छन्। कति त स्कुलमै मोबाइल ल्याउँछन् र भिडियोमा रमाउँछन्। करिश्मा भने यो मामिलामा पनि दृढनिश्चयी छिन्। उनी पढाइ क्रममा मोबाइल चलाउँदिन्, न अरूजस्तो ल्यापटप बोकेर स्कुलै आउँछिन्।
‘करिश्माजी आएपछि कक्षाका अरू विद्यार्थीको व्यवहारमा परिवर्तन आएको हामीले देखेका छौं,’ वाङ्देनले भने, ‘हामीभन्दा उहाँको अनुभव धेरै छ। उहाँ त्यही अनुभवका आधारमा कक्षाकोठामा आफ्ना साथीहरूलाई अनेक उदाहरण दिएर कुरा बुझाउनुहुन्छ। यसले विद्यार्थीको मुड ‘स्विङ’ हुन पाउँदैन।’
करिश्माको उपस्थितिले पढाइमा कमजोर विद्यार्थीलाई समेत प्रेरित गरेको उनको अनुभव छ। विद्यार्थीहरू पढाइलेखाइमा करिश्माजस्तै उत्साही भएको उनी बताउँछन्।
‘यत्रो उमेर भएर पनि करिश्माजी पढ्न आउनुभएको छ भन्ने विद्यार्थीलाई लाग्दो रहेछ। कमजोर विद्यार्थीले करिश्मा मानन्धरलाई जित्छु भनेर स्वच्छ प्रतिस्पर्धाको भावनाले सोच्दा रहेछन्। यस्तो स्वच्छ प्रतिस्पर्धाले करिश्मा र अरू विद्यार्थी सबैलाई फाइदै गर्छ। पढाइलेखाइमा सबैको ‘ग्रोथ’ भइरहेको छ,’ उनले भने।
१४ वर्ष उमेरमै ‘सन्तान’ फिल्म खेलेपछि करिश्माको स्कुल जीवनसँग नाता टुटेको थियो। फिल्मी दुनियाँको ग्ल्यामर र चकाचौंधबीच पनि उनको पढाइप्रति लगाव भने मरेन। उनी बारम्बार एउटै सपना देख्थिन्– आकाशे रङको नीलो सर्ट र हरियो फ्रक लगाएर स्कुल गइरहेको। उनी सपनामा कहिले शिक्षकसामु हुन्थिन् त कहिले परीक्षा दिइरहेकी हुन्थिन्। घरको छतबाट बाटोमा स्कुल गइरहेका विद्यार्थी देख्दा उनी त्यो भीडमा आफूलाई कल्पना गर्थिन्।
पढाइप्रति यत्रो लगावले नै अन्ततः उनलाई फेरि स्कुले जीवनमा फर्काएको हो।
करिश्माले त्रिवेणी स्कुल रोज्नुको कारण उनकै मिल्ने साथी गोविन्द राई हुन्। नृत्य निर्देशक गोविन्द त्रिवेणी स्कुलका ‘कोअर्डिनेटर’ हुन्। करिश्मा फेरि स्कुल जान चाहन्छिन् भन्ने थाहा पाएपछि उनै गोविन्दले त्रिवेणी स्कुल निम्त्याएका थिए।
यो स्कुलमा करिश्माले जस्तै छुटेको पढाइ थालेको घटना पहिलोपटक होइन। यसअघि ३५ वर्षीय दिलबहादुर तामाङले यहीँबाट एसएलसी पास गरेका थिए। उनले स्कुलकै होस्टल बसेर ९ र १० कक्षा पढेको वाङ्देनले बताए।
करिश्मा र दिलबहादुरबीच एउटै कुरा के फरक थियो भने, दिलबहादुर स्कुल ड्रेस लगाएरै कक्षाकोठामा बस्थे। करिश्माजस्तै पढ्ने दृढ इच्छाशक्ति लिएर आएका उनले एम्बिसन एकेडेमीबाट प्लस टू पास गरिसके। वाङ्देनका अनुसार उनी आर्यतारा स्कुलमा प्रमुख कार्यकारी छन्।
‘विद्यार्थीका रूपमा करिश्मा कुन विषयमा कमजोर र कुन विषयमा बलियी छिन् त?’
हाम्रो यो प्रश्नमा अंग्रेजी शिक्षकसमेत रहेका वाङ्देनले भने, ‘उहाँको अंग्रेजी बोलीचाली राम्रो छ। ग्रामरमा केही गल्ती हुन्छन्, ती सामान्य हुन्। विज्ञान र गणितमा उहाँले मिहिनेत गर्नुपर्ने देखेको छु।’
उनका अनुसार करिश्मालाई पढाउन सजिलो छ। शिक्षकले अलिकति भन्नेबित्तिकै पूरा कुरा बुझ्ने खुबी रहेको उनले सुनाए।
‘म करिश्माजीको सफलतामा विश्वस्त छु,’ कक्षाकोठामा अरू विद्यार्थीलाई जस्तै ‘तिमी’ सम्बोधन गरे पनि बाहिर ‘म्याम’ भनेर बोलाउने वाङ्देनले भने, ‘यो उमेरमा पढ्न थाल्यो भनेर उहाँको आलोचना पनि सुनिन्छ। म उहाँलाई सम्झाइरहेको छु। सत्ययुगमा सीताले त अग्नि परीक्षा दिनुपर्यो भने यो त कलियुग हो म्याम भन्छु।’
उनले यसरी सम्झाउनुको कारण छ।
उनी भन्छन्, ‘पढ्ने इच्छाशक्ति भएको मान्छेलाई उमेर बाधक बन्दैन।’