घोराही र बुटवल नगर न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरी कै उत्कृष्ट भएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको स्थानीय निकाय वित्तीय आयोगले गरेको मूल्यांकनमा घोराही र बुटवलले समान ९१ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएका हुन् ।
आथिर्क वर्ष २०७२/७३ मा आयोगका स्थानीय शासन विज्ञ र वित्तीय विज्ञले गरेको मूल्यांकनमा घोराही र बुटवल उत्कृष्ट भएको घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
नगरले सम्पादन गरेका कामको सूचकहरूका आधारमा अंक प्रदान गर्ने गरिन्छ । घोराही उपमहानगर यसअघि आर्थिक वर्ष २०६७ /६८ मा पनि प्रथम भएको थियो । त्यसैगरी, ९० अंक प्राप्त गरी धनकुटा र हेटौंडा दोस्रो तथा कमलामाई ८७ अंक प्राप्त गरी तृतीय भएका छन् ।
यसै बीच साविकको जिल्ला विकास समिति न्यूनतम शर्तमा पास भए पनि कार्य सम्पादन मापनको कार्य क्षेत्रमा तोकिएको न्यूनतम अंक प्राप्त गर्न नसक्दा फेल भएको छ ।