ग्रामिण पूनर्निर्माण तथा पूनर्स्थापना आयोजना डोलिडारले २ वर्ष अघिदेखि सुरू गरेको कागबेनी-खिङ्गा हुँदै मुक्तिनाथ रानीपौवा जोड्ने सडक स्तरोउन्नोति तथा कालोपत्रे गर्ने कार्य सकेको छ।
सडकको केही काम बाँकी रहदै गर्दा आयोजनाले यात्रुको हितलाई मध्यनजर गर्दे बुधबारदेखि उक्त सडक खुल्ला गर्ने निर्णय गरेको हो।
भोलिदेखि सुरू हुने सोह्र श्राद्धको अवसरमा तिर्थालुको चाप बढ्ने भएकोले उनीहरुलाई मुक्तिनाथसम्म व्यवस्थित यात्रा गर्न सजिलो होस् भन्दै कागबेनी—मूक्तिनाथ सडक खुला गरिएको जिल्ला इन्जिनियर रविन्द्र तीवारीले जानकारी दिए।
उनका अनुसार सोह्र श्राद्धका बेला वर्षेनी दिवंगत पितृको श्राद्ध तथा तर्पण दिन तिर्थालुको ओईरो लाग्ने गर्छ। ‘सडक कालोपत्रे गर्ने कार्य केही ठाउँमा बाँकी छ, दशै भित्र सक्ने भनेका छौ’, इन्जिनियर तीवारीले भने, ‘यात्रुको सुविधाका लागि हामीले काम गर्न असहज भए पनि बाटो खुला गर्ने निर्णय गरेका हौ।
यसअघि सडक कालोपत्रे गर्ने कार्यलाई बाधा पुग्ने भन्दै गत असारको दोस्रो सातादेखि सवारी आवगमनमा प्रतिबन्ध लगाईएको थियो।
निर्माधिन सडक रोकिएपछि स्थानीय सवारी साधन कागबेनी, झोङहुँदै मुक्तिनाथ चलेका थिए। यसका लागि आयोजनाले झोङको बैकल्पिक सडकको व्यवस्था गरेको हो।
करिव २ किमी फेरो पर्ने उक्त अप्ठ्यारो झोङ पुडाक सडकमा यात्रा गर्दा तिर्थालुले शास्ती बेहोर्नु परेको मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मीन प्रसाद थकालीले बताए।
डोलीडारले कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किमी कालोपत्रे सडक तथा सडक फराकिलो बनाउँने कार्यका लागि २ खण्ड गरेर करिब २० करोड लगानी गरेको छ।
सोका लागि एपेक्स जेभी र एपेक्स अमित जेभी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएका हुन्। सडक ५ मिटर चौडा रहेको छ भने सडकको २ तर्फी पेटीको साईज ०.७५ र नाली १ मिटरको छ।
२ वर्षभित्र सम्पन्न गर्ने योजनासहित सडक निर्माणमा जुटेका स्थानीय ठेकेदार सकबहादुर लालचनले मौसम अनुकुल नहुँदा निर्माणमा कठिनाई भएको बताए।
यसअघि सडक स्तरोन्नोति तथा फराकिलो गर्ने काम सकिए लगत्तै आयोजानले कालोपत्रे गर्न ४५ दिनको समयसीमा मागेको थियो। गत असार १२ देखि सुरू भएको कालोपत्रेको काम निर्धारित समय सकिए पनि सम्पन्न हुन सकेको छैन।
सडकको ८० प्रतिशत मात्र काम सकिएको निर्माण कन्ट्रक्सनका प्राविधिक अनिल कुमार चौधरीले बताए।