हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकिकृत बस्ती बनाउने भएका छन्। महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाएलगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका उनीहरुले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकिकृत बस्ती बनाउने घोषणा गरेका हुन्।
अविरल वर्षासँगै डुबानमा परेका तराईका जिल्लाहरुमा करिब दुई हप्ता राहत वितरण तथा उद्धार कार्यमा बिताएका धुर्मुसले नमुना नेपालसँगै एकिकृत बस्ती बनाउने बताए।
‘उहाँहरु अझै पनि पालमुनी बसिरहनु भएको छ,’ धुर्मुसले भने, ‘हामी डुबानमा नपर्ने बस्ती बसाल्न चाहन्छौं। कहाँ बनाउने टुंगो लागिसकेको छैन। आजदेखि अनुसन्धान थालेका छौं। नमुना नेपाल अनुसन्धानकै चरणमा छ। त्यो बनाउन धेरै समय लाग्छ। तर, काम रोकिँदैन। दुवै सँगै चल्छ।’
धुर्मुस–सुन्तलीले ठाउँ टुंगो लाग्नेबित्तिकै एकिकृत बस्तीको काम सुरु भइहाल्ने भएकाले सहयोगका लागि अनुरोध गरेका छन्।