विश्व सम्पदा सूचीको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि भएको छ।
चितवन निकुञ्जकै सबभन्दा आकर्षक पक्ष रहेको दुर्लभ एकसिंगे गैंडा चोरीसिकारीको मारमा छ। निकुञ्ज टोली, नेपाली सेना र समुदायको निरन्तर प्रयासले गैंडा संख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत बेद खड्का बताउँछन्।
उनका अनुसार सन् २००४ मा चितवन निकुञ्जमा ३ सय ७२ वटा एकसिंगे गैंडा थिए। अहिले यसको संख्या ६ सय ५ पुगेको छ।
‘यहाँको पहिचान भनेकै गैंडा हो। गैंडा बचेन भने हामीले अन्तर्राष्ट्रिय सहयोग पाउँदैनौं,’ उनले सेतोपाटीसँग भने, ‘हामीले गैंडा संरक्षणका लागि मध्यवर्ती क्षेत्रका जनतासँग मिलेर काम गरेका छौं। स्थानीय समुदायको सहयोगले नै गैंडा जोगिएको छ।’
गैंडा संरक्षणका लागि बासस्थान जोगाउने अभियान थालेको उनले बताए। गैंडालाई घाँसे मैदान र हिलो माटो चाहिन्छ। यो निकुञ्ज ९ सय ५२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ भने मध्यवर्ती क्षेत्रसमेत गरी १ हजार ६ सय ८२ वर्गकिलोमिटर छ। यसको २५ प्रतिशत भाग मात्रै गैंडालाई उपयुक्त भएको उनले जानकारी दिए।
‘गैंडालाई नदी जोडिएको घाँसे मैदान चाहिन्छ। गैंडा मानव बस्तीको नजिक बस्न रुचाउँछ,’ उनले भने, ‘यही स्वभावले पनि चोरी तस्करी भएको हो।’
२२ वर्षमा १७६ गैंडा मारिएनेपालमा गैंडा संरक्षणको पहिलो प्रयास २०१८ सालमा भएको हो। त्यतिबेला ‘गैंडा गस्ती’ का रूपमा संरक्षित क्षेत्र स्थापना गरिएको थियो भने २०३० सालमा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन निकुञ्ज स्थापना भएको थियो।
२०३२ सालदेखि निकुञ्ज संरक्षणको जिम्मेवारी सेनाले पाएको छ। अहिले नेपाली सेनाको बटुकदल गणले निकुञ्ज सुरक्षा गरिरहेको छ। सेनाको तत्कालीन लक्ष्य एक वर्ष शून्य चोरीसिकार वर्ष मनाउने रहेको गणका निमित्त गणपति पुरुषोतम कार्कीले बताए।
‘सन २०१५ र २०१६ मा हामी शून्य सिकार वर्ष मनाउन सफल भएका थियौ। २०१७ मा सानो दुर्घटना भयो,’ उनले भने, ‘यो वर्ष हामी शून्य सिकारको नजिक पुगेका छौं। यसको निरन्तरता नै हाम्रो लक्ष्य हो।’
बटुकदलको तथ्यांकअनुसार सन् १९९५ देखि अहिलेसम्म यहाँ १ सय ७६ गैंडा मारिएका छन्। सन् १९९५ मा एउटा गैंडा चोरी सिकार भएको थियो भने २००२ मा ३५ वटाको सिकारी भएको थियो। २०५८ देखि २०६३ सम्मको माओवादी द्वन्द्वकालमा मात्र १ सय ६ गैंडाको चोरीसिकारी भएको थियो। माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला सेना साँघुरो घेरामा खुम्चिएकाले गैंडाको सिकार बढी भएको थियो।
शून्य चोरी शिकारको अवधारणा लागू भएपछि २०६८ यता तीनवटा गैंडा चोरी सिकारी भएका छन्। सन् २०११, २०१३, २०१५ र २०१६ मा गैंडाको चोरीसिकार भएको थिएन।
निकुञ्जमा ५० भन्दा बढी पोस्ट छन्। आवश्यकताअनुसार पोस्ट थपिने गणका अपरेसन प्रमुख सेनानी दीपक श्रेष्ठले बताए। यसबाहेक समुदायसँग मिलेर गरिने गस्तीले गैंडा संरक्षणमा सहयोग पुगेको उनको भनाइ छ।
२००७ सालतिर यहाँ ८ सय हाराहारी गैंडा रहेको अनुमान छ। त्यो संख्या २०२० सम्म आइपुग्दा सयमा झरेको निकुञ्जका सहायक संरक्षण अधिकारी नरेन्द्र अर्यालले बताए।
गैंडा चोरी शिकारको आरोपमा अहिलेसम्म १ सय ४० जान जेलमा छन्। सय जनाभन्दा बढी फरार रहेको निकुञ्जका रेन्जर लक्ष्मण रायले बताए। गैंडा शिकार गर्नेलाई ५ देखि १५ वर्ष जेल र ५ देखि १५ लाख जरिवाना हुने कानुनी व्यवस्था छ।