बुधबार रातिको अविरल वर्षाले राजधानीको बाफलस्थित नमूना सामुदायिक स्कुल ज्ञानोदय उच्च माविमा पसेको बाढी सफा गर्न नेपाली सेनाले सहयोग गरिरहेको छ।
स्थानीय मनमती खोलामा आएको बाढी स्कुलमा पसेको हो। स्कुल भवनको भुइँतलामा रहेका सबै कोठामा पानी पसेपछि बिहीबार एक दिन छुट्टी गरिएको प्रधानाध्यापक नातिकाजी महर्जनले जानकारी दिए। 'बाढी पसेकोले आज स्कुल छुट्टी गर्नुपर्यो तर भोलिदेखि पनि पढाइ सञ्चालगन गर्न कठिन छ,' उनले सेतोपाटीसँग भने।
भुइँतलामा रहेको सबैजसो कक्षामा पानी पसेर हिलाम्य भएको उनले बताए। नेपाली सेना, शिक्षक, अभिभावक तथा विद्यार्थी मिलेर स्कुल कोठा तथा परिसर सफा गरिरहेका छन्।
'सबै बाढी पसेको छ, कक्षाकोठा सबै हिलाम्य छ,' उनले भने, 'लगभग ४० देखि ५० लाखसम्म क्षति भएको छ तर कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन।'
कम्युटर ल्याब, विज्ञान तथा इन्जिनियरिङ प्रयोगशाला, पुस्तकालय र नर्सरी पढाइ हुने कक्षाकोठामा बाढी पसेकाले क्षति भएको प्रधानाध्यापक महर्जनले जानकारी दिए।
ज्ञानोदय उत्कृष्ट नतिजाकै कारण लामो समयदेखि नमूना विद्यालय रहँदै आएको छ।
यहाँ दुई वर्षदेखि ९ कक्षाबाट इन्जिनियरिङ विषय पढाइ भइरहेको छ। यहाँ कक्षा ९ का ४८ जना विद्यार्थी इन्जिनियरिङ पढिरहेका छन्। उनीहरूका लागि बनाइएको इन्जिनियरिङ प्रयोगशालामा बाढी पसेर सामग्रीहरूमा क्षति पुर्याएको महर्जनले बताए। यहाँ रहेका दुवै सुविधासम्पन्न विज्ञान प्रयोगशाला डुबानमा परेका छन्।
२०२० सालमा स्थापना भएको यो स्कुल २०५२ सालदेखि एसएलसीमा निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको छ। २०५२ को एसएलसीमा ९० प्रतिशत विद्यार्थी पास भएपछि यो स्कुलको ‘प्रोफाइल’ फेरिन थालेको थियो।
त्यसपछि हरेक वर्ष यो नमूना विद्यालय रहेको छ। पछिल्ला दुई एसइई परीक्षामा पनि यो स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ।
२०४० सालदेखि नै यहाँ नर्सरी र केजी कक्षा पनि पढाइ भइरहेको छ।
यो पनि हेर्नुहोस्
https://www.youtube.com/watch?v=VI3t4q4L4hQ&feature=youtu.be