मोरङको रंगेली नगरपालिका ९ स्थित दोमहाना बजार नजिकै ५ धुर ऐलानी जग्गामा सानो झुपडी बनाएर बस्दै आएकी शान्ति देवी ऋिषिदेवका छोरा १३ वर्षीय सन्तोष ऋिषिदेवको पेटमा पानी जमेर मृगौला नेफेटीक ट्रिन भन्ने रोगबाट पीडित छन्।
उनकै १० वर्षिय कान्छो छोरा गणेश पनि हाईड्रोशील रोगबाट अस्पतालमा भर्ना भएका छन्।
बिगत दुई वर्षदेखि पैसाको अभावका कारण साईलो छोरा सन्तोष रोग पाल्न बाध्य भईरहेका छन्। भदौ ११ गतेदेखि कान्छो छोरालाई समेत हाईड्रोशील भए पछि एकै अस्पतालमा दुई छोराको उपचार भईरहेको छ।
शान्ति देवि गाउँमै एक जनाको घरमा भाडा मोल्ने, गाईबस्तुको स्याहार सुसार गर्ने काम गरेर तीन छोरालाई जसोतसो दुई छाक खुवाईरहेकी छन्।
६ जना परिवार रहेका ऋिषिदेव परिवार अहिले चार जनामा सिमित भएको छ।
साईलो छोराको रोगका कारण त्यसै भन्न नसकिने अवस्था छ। पेटमा पानी जम्ने समस्या भएका उनको उपचार गर्न खर्चको अभाव छ।
‘२० वर्षको उमेरमा जेठो छोरा वितेको ५ वर्ष भयो। रोगै पत्ता नलागि उसको मृत्यु भयो। कोशी अन्चल अस्पतालमा उपचार गर्न लगेको उसलाई ५ दिनसम्म आईसुमा राखे पनि नत रोगै पत्ता लाग्यो नत छोरानै बाच्या,’ उनले भनिन्।
जेठो छोराको उपचारका लागि त्यतीबेला लिएको ४० हजार ऋण अझैसम्म तिर्न नसकेको भन्दै उनले भनिन्,‘श्रीमानले पनि घरको स्थिति देखेर आत्महत्या गर्नुभयो। के गर्नु भगवानले पनि कति दु:ख दिन सकेको होला हामी गरिबलाई।’
साहिला छोरा सन्तोषलाई दुई वर्षदेखि पेट फुल्ने समस्या भएको भन्दै उनले भनिन्, ‘सुरूमा बोक्सी लाग्यो भनेर धामीझाँक्री गरेँ। त्यो धामीले पनि झन्डै २ लाख रुपैयाँ खाईदियो तर रोग उन्नाइसको बीस भएन।
२०७२ साल जेठमा कोशी अन्चल अस्पतालमा सात दिन राखेर ३५ हजार खर्चिएर उपचार गरिन् तर रोग भने निको भएन। केही दिन कम भएजस्तो भयो तर, रोग भने फेरि जस्ताको त्यस्तै रह्यो।
उनका माईला छोरा सुमन घरको स्थितिले पढ्न नसकेर ट्याक्टरको खलासी भएका छन्। ‘मैले पनि राम्रोसँग पढ्न पाईँन कक्षा ५ पढ्दा पढ्दै दाजु बित्नुभयो। घरको सम्पूर्ण ब्यवहार मेरै काँधमा आयो। ट्याक्टरमा लेवरको काम गरेर दिनमा ४ सय रुपैयाँ कमाएर आमालाई सहयोग गर्दैछु।’
दुई भाइ दोहमनास्थित वीरेन्द्र निम्न माध्यमिक विद्यालयमा कक्षा ४ र कक्षा ३ पढिरहेका थिए एक्कासी रोगले च्यापेपछि पढाइ छोडेको उनले बताए।
शान्ति देविको कान्छा छोरालाई अहिले कान पाक्ने समस्याले सताएको छ। ‘धेरै ठाउँमा उपचार गराउन लगेँ तर निकै भएन। अहिले त कान पनि सुन्दैन, राम्रोसँग बोल्न सक्दैन, उसले बोलेका कुरा म बाहेक अर
कसैले बुझ्दैनन्।’
रंगेली अस्पतालमा दुवै छोरालाई भर्ना गरेर उपचार गराई रहेकी उनले दैनिक २ हजार रूपैयाँको सुई लगाईरहेकाले साइलाको पेटमा केही सुधार भईरहेको बताइन्।
‘दुई छोराको चिन्ताले नत भोक लाग्छ, न निद्रा नै लाग्छ, कसरी बाचौ,’ उनले भनिन्, जेठा छोरा आज भएको भए यति धेरै दु: ख हुदैन थियो होला। उसकै कमाईले एक जोडी राँगा किनेर घरमा सम्पति जोडेको थियो। त्यो पनि उसैको उपचारमा खर्च भयो।’
अहिले घरमा एक मुठ्ठी चामलसमेत नभएको भन्दै सेतोपाटीसँग भनिन्,‘ अहिले त न घर छ न खाने केही अन्ननै। घर पनि बाढीले भत्काईदियो, नगरपालिकाले राहत स्वरुप दिएको १५ केजी चामल पनि सकियो, राहतमा दिएको एउटा त्रिपालमा कसरी बस्नू?’
अहिले अस्पतालले दुवै छोरालाई निःशुल्क खाना दिईरहेको छ। उनी पनि त्यही खानाबाट छोराहरूलाईलाई खुवाएर बाँकी रहेको खाना खाने गरेकी छन्।
शान्तिले आफ्ना छोरालाई कसैले सहयोग गरेर बचाईदिन आग्रहसमेत गरिन्।