तुलसीपुर उपमहानगरपालिकाले सोमबार पारित गरेको नीति तथा कार्यक्रममा नौंला र रोचक पक्षहरू समेटेको छ । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन वाट निर्वाचित जन प्रतिनिधिले पारित गरेको नीति तथा कार्यक्रममध्ये केहि नितान्त भिन्न र आकर्षक कार्यक्रम रहेका छन् ।
उपमहानगरले ८४ वर्ष उमेर माथिका जेष्ठ नागरिकको सम्मान गर्न एक जोडा कपडा खरीद गरेर वितरण गर्ने निर्णय पारित गरेको छ । त्यसका लागि १५ लाख रुपेैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, सबै नगरवासीको बैंक खाता खोल्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसका लागि दुई लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ ।
सबै नगरवासीको बैंक खाता बनाई बचतको व्यवस्थापन गर्नका लागि ‘मेरो पनि बैंक खाता’ कार्यक्रमका लागि दुई लाख बजेट विनियोजन गरिएको छ । नगर क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्न तथा एम्वुलेन्स खरीद गर्नको लागि एक करोड बजेट छुट्याइएको छ । यो बजेटले छ वटा एम्वुलेन्स र दुईवटा शव वहान खरीद गर्ने पारित नीति तथा कार्यक्रममा उल्लेख छ ।
वडा नं. ५ र ६ मा शव वहान र साविकका गाविसमा भएको स्वास्थ्य चौकीमा छ वटा एम्वुलेन्स प्रदान गर्न उक्त बजेट छुट्याइएको उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । त्यस्तै, जिल्लाकै गौरवको रूपमा रहेको तुलसीपुर विमानस्थललाई यथाशिघ्र सञ्चालन, प्राविधिक क्षमता विस्तार र इन्धन डिपो स्थापना गर्न मद्दत पुगोस भनेर ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी, उपमहानगर क्षेत्रमा खरको छाना विस्थापित गर्न तथा ती घरमा टिनको छाना हाल्नका लागि एक करोड रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ । उपमहानगरको पहिरो अधिवेशनले खरको छाना विस्थापित गर्ने नीति तथा कार्यक्रम पारित गर्दै उक्त बजेट छुट्याएको छ ।
नगरसभाले उपमहानगरमा २० वर्षभन्दा माथि सेवा अवधि पूरा गरेका कर्मचारीहरूका लागि ‘गोल्डेन ह्यान्डसेक’ कार्यक्रम अन्तरगत एक करोड रुपैयाँ बजेट छुट्याएको छ । स्वच्छिक अवकास लिन चाहने कर्मचारीलाई लक्षित गरी उक्त बजेट छुट्याइएको जानकरी दिइएको छ ।
त्यस्तै, कर्मचारीहरूको सीप र दक्षताको अभिवृद्धिका लागि क्षमता विकास तालिममा दश लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ । नगरसभाले उद्योग वाणिज्य संघ तुलसीपुरले तुलसीपुर -८ दोघरेमा निर्माण गर्न लागेको बहुआयामिक सभाहलका लागि दश लाख रुपैयाँ बजेट छुट्याएको छ ।
पहिलो नगरसभाले पारित नीति तथा कार्यक्रममध्ये तुलसीपुर –घोराहीमा मोनोरेल सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन, तुलसीपुरमा मेट्रो कलेज स्थापना बजेटका नौंला र रोचक पक्षहरू हुन् ।
त्यस्तै, उपमहानगर क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्ने पाँच वटा विद्यालयलाई दश लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने जस्ता विषयहरू बजेटका आकर्षणहरू हुन् ।
नगरको समग्र विकास मानव संसाधनको क्षमता अभिवृद्धि, वनवातावरण तथा मनोरेलको संभाव्यता अध्ययन समेतलाई समेटेर सोमवार अनुमोदित एक अर्ब १७ करोड ८६ लाख बढीको बजेटमा प्रशासनिक खर्चलाई मितव्ययिता अपनाई कुल बजेटको दश प्रतिशत भन्दा कममा झार्ने प्रस्ताव गर्नु अत्यन्त सराहारानिय पक्ष मान्न सकिन्छ । प्रशासनिक खर्चतर्फ यसपटक जम्मा नौं करोड ८१ लाख ६५हजार छुट्टाइएको छ ।