मदनपुरस्कार विजेताको लेखन यात्रा
महाभारतको युद्ध किन भयो? जवाफ सयौं भेटिनसक्छ।
कवि तथा समालोचक घनश्याम कँडेललाई लाग्यो- सामाजिक न्यायको अभावका र विभेदका कारण यो नरसंहारकारी युद्ध भयो।
उनको विचारमा दृष्टिविहीन भएकै कारण धृतराष्ट्रलाई सिंहासनबाट बञ्चित गरिएपछि यो युद्धको बिजारोपण भइसकेको थियो।
विचित्रविर्यको मृत्युपछि जेठो छोरो भएकाले धृतराष्ट्र नै हस्तिनापुरको राजा हुनुपर्थ्यो।
दृष्टिविहीन धृतराष्ट्रलाई राजगद्धीमा राख्न अरू तयार भएनन्। अन्तत: उनका भाई पाण्डु हस्तिनापुरका राजा बनाइए।
महाभारतको कथा टपक्क टिपेर अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्ने नयाँ चेतना अनुसार कँडेलले नयाँ काव्य लेखे। र, तयार भयो खण्डकाव्य 'धृतराष्ट्र'। यही कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गर्यो।
त्रिभूवन विश्वविद्यालयमा झण्डै चार दशक पढाएका प्राध्यापक कँडेलका यी दिन घरमै बितिरहेका छन्, अध्ययन र लेखनमा। त्रिवि नेपाली विभागको प्रमुख भएर अवकास पाएको पनि एक दशक हुनै लाग्यो। उमेर ७० नाघिसक्यो।
यतिबेला भने केही दिनदेखि रूघाखोकी र ज्वरोले सताइरहेको रहेछ। आइतबार दिउँसो उनी आफ्नै अध्ययन कक्षमा आराम गरिरहेका थिए। उनको ल्याण्डलाइन फोनको घन्टी बज्यो। दुईतीन पटक बजेपछि उनले फोन उठाए। तब उनलाई थाहा भयो, त्यो खुशीको घण्टी बजेको रहेछ।
'मैले फोनबाटै थाहा पाएँ,' उनले भने, 'यति बेलासम्म मिडियामा व्यापक भइसकेको रहेछ।'
त्यसपछि त एकपछि अर्को फोन, उनलाई जवाफ दिन भ्याईनभ्याई। साँझसम्ममा दुईचार शुभचिन्तक बधाई दिन घरमै आइपुग्न भ्याइसकेका थिए।
साँझ साढे ६ बजेतिर हामी निवासमा पुग्दा उनी बधाई दिन आउने शुभचिन्तकहरूसँग गफ्फिरहेका थिए। फोनको घण्टी लगातार बजिरहेकै थियो।
उनी फोन उठाउँथे र भन्थे, 'धन्यवाद, धन्यवाद।'
यसपछि फेरि आफ्नो कुरा सुरू गर्थे।
हामीले उनीसँग कुरा गर्न थाल्दा अँध्यारो भैसकेको थियो। रूघा र ज्वरोले ल्याएको शिथिलतालाई उनी मदन पुरस्कारको खुसीले दबाइरहेका थिए।
हामी केहीबेर 'धृतराष्ट्र' नै कुराकानीमा लाग्यौं।
'यो अहिलेको समयको चेतना हो,' उनले भने, 'अपाङ्गता भएका व्यक्तिलाई दया होइन, अवसरको खाँचो छ। दया गर्नुको साटो उनीहरूलाई काम गर्ने उचित वातावरण तयार गरिदिनुपर्छ।'
यही चेतनाको जगमा तयार भएको हो 'धृतराष्ट्र'। अपाङ्गता भएका व्यक्तिलाई राज्य र समाजले कसरी आफ्नो स्वभाविक अधिकारबाट बञ्चित गर्छ भन्ने विम्बका रूपमा उनले महाभारतको यो प्रसङ्ग रोजे।
महाभारतमा देखाइएका नायकका कमजोरी खोजे र खलनायक बनाइएका धृतराष्ट्रलाई नायकका रूपमा उभ्याए।
'धृतराष्ट्र वा दृष्टिविहिनबारे नै लेख्ने निर्णयमा कसरी पुग्नुभयो?'
प्रश्न सुनेपछि एकछिन उनी चुपचाप रोकिए। केही सम्झिएजस्तो गरे। अनि एकछिनमा भने,'मेरो एउटा नितान्त वैयक्तिक कुरो सुनाउँ है।'
केही समयअघि उनको एउटा आँखाको पर्दा (रेटिना) फाटेको रहेछ। यसले उनको दृष्टीमा निकै समस्या भयो। तीलगंगा आँखा उपचार केन्द्रमा उपचार गरेपछि उनी भारतको मद्रासमा उपचारका लागि गएका रहेछन्। अहिले उनको आँखाको उपचार भइसकेको छ।
एउटा आँखाको दृष्टि हराएका बेला उनी अर्को आँखा पनि छोपेर दृष्टि नहुँदाको अवस्था अनुभूत गर्न खोज्दा रहेछन्।
'सबै भयावह कालोकालो मात्रै छ,' उनले त्यो अनुभूति सुनाए,'संसारका यति सुन्दर कुराहरू केही देखिँदैन। अत्यन्त भयावह अनूभुत हुन्थ्यो मलाई।'
उनी दृष्टिविहिनहरूको संसार कल्पना गर्न थाले। उनीहरूको आफ्नै जीवनशैली र क्षमताबारे चिन्तन गर्न थाले। यसैबेला उनको दिमागमा दृष्टिविहीनको बारेमा काव्य लेख्नुपर्छ भन्ने सोच पलायो।
'दृष्टिविहीनलाई दया होइन, अवसरको खाँचो छ भन्नका निमित्त, उनीहरूसँग अरू मानिससँग जस्तै अथाह क्षमता हुन्छ,तर वातावरणको जरूरी पर्छ भन्नका निमित्त मैले यो काव्य लेखेको हुँ,' उनले भने।
कुनै पनि किसिमका अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनु, काम गर्ने वातावरण दिनु सामाजिक न्यायको कुरा हो।
दृष्टिविहिनलाई अवसर र वातावरण जरूरी छ भन्ने आफ्नो भनाईलाई उनले सामाजिक न्याय र विद्रोहसँग जोडे।
'समाजमा कसैमाथि विभेद भयो, सामाजिक न्यायको अभाव भयो भने त्यहाँ विद्रोहको विजारोपण हुन्छ,' उनले भने, 'कालान्तरमा यसले युद्ध वा संहारको रूप लिन्छ। मानिसले स्वभाविक र कानूनी रूपमा न्याय पाएन ऊ त्यो कानूनकै विरुद्ध उभिन्छ, विद्रोह गर्छ।'
यो नवीन चेतनालाई अभिव्यक्त गर्न उनले महाभारतको कथालाई आधार बनाए।
महाभारतका पात्र वा कथामार्फत अहिलेको चेतनालाई भन्न सके त्यो प्रभावकारी हुन्छ भन्ने उनलाई लाग्छ।
त्यसैले 'धृतराष्ट्र'मा सामाजिक न्याय र अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्छ भन्ने आधुनिक चेतना महाभारतको कथालाई पुनर्कथन गरेर अभिव्यक्त गरे।
धृतराष्ट्र उनको पाँचौं खण्डकाव्य तथा दशौं पुस्तक हो। उनले अरू दुई खण्डकाव्य 'देवयानी' र 'विश्वामित्र मेनका'मा पनि महाभारतका पात्रमार्फत महाभारतकै कथालाई पुनर्कथन गरेका छन्।
'महाभारतका पात्र पाठकहरूले सुनिरहेका हुन्छन्,' साहित्यकार कँडेलले भने, 'तिनको नाम देखेपछि पाठकमा रूचि जाग्छ। र, यसले आफूले भन्न खोजेको कुरालाई प्रभावकारी बनाउँछ।'
पहिलो खण्डकाव्य 'देवयानी' पनि उनले महाभारतकै कथा र पात्रलाई लिएर सिर्जना गरेका छन्।
'ठूला राष्ट्रहरूले साना राष्ट्रहरूको साधान स्रोतलाई कसरी उपयोग गर्न खोज्छन् भन्ने मैले यसमा उठाएको छु,' कँडेलले भने, 'र, प्रेमलाई देश वा जातको सीमाले लेख्न सक्दैन भन्ने कुरा पनि उठाएको छु। यो पनि महाभारतकै कथामा आधारित छ।'
देवयानी २०३९ सालमा पहिले छापिएको हो। यसबेला यो कृतिले मदन पुरस्कार पाउँछ भन्ने खुबै चर्चा चलेको रहेछ। संयोग कस्तो भने यही साल मदनमणि दीक्षितको 'माधवी' उपन्यास प्रकाशित भएको। विषयवस्तु, प्रस्तुति, भाषा सबै हिसाबले माधवी नै मदन पुरस्कारको प्रवल दाबेदार रह्यो। मदन पुरस्कार मदनमणिले पाए।
यसबाहेक उनका अरू दुई खण्डकाव्य छन्, 'उज्यालोतिर' र 'वनको क्रन्दन'। 'आँशुका अक्षर'लाई उनले शोककाव्य भनेका छन्।
'उज्यालोतिर' मुनामदनमा प्रयोग भएको झ्याउरे छन्दमा रचिएको छ। यसमा उनले अन्तरजातीय विवाहबारे लेखेका छन्।
'अहिलेको समयमा जातीय संकिर्णता दृष्टिले हेरेर राष्ट्र अखण्ड रहन सक्दैन भन्ने कुरा मैले उठाएको छु,' उनले भने, 'अब कसैलाई कुनै जातको भएकै कारण उपेक्षा वा विभेद गर्नु हुँदैन भन्ने मैले यो खण्डकाव्यमा उठाएको छु।'
'वनको क्रन्दन'चाँहि जंगल र वन्यजन्तुको संरक्षण गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
'सानोमा मेरो घरको पारीपट्टी विशाल जंगल थियो,' उनले भने, 'हामी वारीबाटै त्यो वन हेरेर डराउँथ्यौं। अहिले त त्यो वन मासेर बस्ती बसिसकेछ।'
एकपटक घरजाँदा उनले वन मासिएको त्यो दृश्य देखेँ। यसपछि उनलाई लाग्यो, संसारभरी वनजंगल कसरी घटिरहेको छ भन्ने एउटा उदाहरण हो यो। यसरी वनजंगल मासिँदै जाने हो भने सम्पूर्ण प्राणीको जीवन नै संकटमा पर्न सक्छ।
जंगललाई मानवीयकरण गरेर उनले यो खण्डकाव्य लेखे। जंगल नै यसको प्रमुख पात्र हो।
यो खण्डकाव्यबारे कुरा गर्न थालेपछि उनी आफ्नो बाल्यकालमा पुगे। धादिङ, मलेखुको आफ्नो घर र बाल्यकाल सम्झिए।
उनका बुवा पुष्पराज कँडेल धादिङका नामी पण्डित थिए। राम्रो पुराण भन्ने कँडेल पण्डितको चर्चा वरपरका गाउँमा पनि थियो। पण्डित बुवाले उनलाई प्रारम्भिक शिक्षादिक्षा घरमै दिए। तीन भाइ र दुई बहिनीका दाजु घनश्याम घरको जेठो छोरो भएपनि खेतीपातीमा त्यति ध्यान दिन परेन। घरको काममा सहयोग गरेरै भए पनि पढ्ने अवसर उनले पाए।
घनश्यामको शिक्षा दुर्गाकवचबाट सुरू भयो। त्यसपछि चण्डी, लघुकौमुदी र अमरकोषको अध्ययन उनले घरमै सकाए। मध्यकौमुदी पढ्दै गर्दा पढाउनका लागि बुवा पुष्पराजले काठमाडौं लिएर आए। उनी रानीपोखरी संस्कृत पाठशाला जाँदै थिए। लगभग एक महिनापछि नै बुवाले बनारस जाने बन्दोबस्त मिलाइदिए।
१५-१६ वर्षमा बनारस गएका घनश्याम संस्कृत पाठशाला जान थाले। करीब एकवर्ष पढेपछि उनले पूर्वमध्यमको परीक्षा दिए। यो एसएलसी सरहको परीक्षा हो।
यसपछि संस्कृत र अंग्रेजी दुवैतर्फ पढाइ थाले। उनले संस्कृतिमा शास्त्री र अंग्रजीमा बिएसम्मको अध्ययन पूरा गरे।
यसपछि २०२२ सालतिर उनी नेपाल फर्किए।
काठमाडौंमा उनले पहिले बिएल गरे, वकिलको लाइसेन्स पनि लिए। उनलाई न त वकालतमा रूचि लाग्यो, न त पढाइको भोक नै मर्यो। बरू उनलाई अध्यापन गर्नु उचित लाग्यो।
उनले बाग्लुङको धौलागिरि क्याम्पसमा जागिर पाए। यहीँबाट उनको अध्यापन यात्रा सुरू भयो। जुन अनवरत रूपमा ३७ वर्षसम्म चल्यो।
बाग्लुङबाट उनी रामपुर कृषि क्याम्पस गए। त्यहाँ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि पढेका हुन् तर दाहाल भर्ना हुँदा उनको सरूवा भइसकेको रहेछ। तर, रामबहादुर थापा 'बादल'लाई पढाएको चाँहि उनी सम्झन्छन्।
'प्रचण्डजीलाई मैले पढाइनँ, उहाँ त्यहाँ भर्ना हुँदा मेरो सरूवा भइसकेको थियो,' उनले रामपुर सम्झिए, 'रामबहादुर थापालाई चाहिँ मैले पढाएको हुँ।'
रामपुर हुँदा नै उनले नेपालीमा त्रिविबाट एमए गरे। उनले पहिलो र दोस्रो वर्ष 'टप' गरे।
यसपछि काठमाडौं आए र केहीवर्ष पद्मकन्या क्याम्पस पढाए। २०३२ सालबाट त्रिभूवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, किर्तिपुरमा पढाउन थाले।
नेपाली पढाउन थालेसँगै उनको लेखनले पनि गति लियो।
सानैदेखि फाट्टफुट्ट कविता लेख्ने कँडेलले बनारस बस्दा कवितासँगै लेखहरू पनि लेख्न थालेका थिए। २०१८ सालमा बनारसको 'नौलो नेपाली' पत्रिका 'साहित्यमा उपयोगितावाद' भन्ने उनको समालोचना छापिएको थियो।
यसपछि उनको फुटकर लेखन चलिरहकै थियो, त्रिविमा नेपाली पढाउन थालेपछि उनी कवितामा अलि बढी मेहेनत गर्न थाले। यसकै फलस्वरूप केही वर्षमा 'देवयानी' खण्डकाव्य तयार भएको थियो।
कँडेलले कवितासँगै समालोचनातर्फ पनि कलम चलाएका छन्। समालोचनाका तीनवटा किताब र 'जीवनका सन्दर्भहरू' नामक कवितासंग्रह प्रकाशित छन्।
त्रिविको जागिरको अन्तिम क्षणमा केहीसमय केन्द्रीय नेपाली विभागका प्रमुख पनि भए। त्रिविबाट २०६६ सालमा अवकास पाएपछि भने उनी पूर्णरूपमा लेखनमा केन्द्रीत भए।
लामो साधना, साहित्यको अध्ययन, अध्यापन र समालोचना सबैको अनुभव सङ्गालेर सिर्जना गरिएको 'धृतराष्ट्र'ले उनलाई मदन पुरस्कारसम्म पुर्यायो।
'मैले नसोचेको खुसी पाएको छु,' मदन पुरस्कारबारे उनको प्रतिकृया छ, 'पुरस्कारले काव्यले उठाएको मुद्धालाई अनुमोदन भएको मैले ठानेको छु।'
'अहिले पद्य कविताका पाठक कम छन् भनिन्छ, तपाईं किन खण्डकाव्य लेख्नुहुन्छ?' अन्तिममा मैले सोधेँ।
'खण्डकाव्य, पद्यकविता, गद्यकविता, उपन्यास, निबन्ध आदि भनेका साहित्यका स्वरूप हुन्,' उनले आत्मविश्वासका साथ भने, 'पाठकले विधा होइन, के लेखिएको छ र कसरी लेखिएको छ भन्ने हेर्छन्। तपाईं के लेख्नुहुन्छ त्यो कुरा महत्वपूर्ण छ।'
निकै राती भइसकेको थियो। रूघाले सताइरहे पनि धेरैबेर बोलिसकेकाले उनको घाँटी बस्यो। तै पनि एकछिन उनले कुरा गरिरहे।
अन्त्यमा भने, 'म आफूले बाँचेको समय र समाज लेख्न चाहन्छु। 'धृतराष्ट्र' र अरू काव्यमा मैले त्यही प्रयास गरेको छु।'