थारु समुदायले आइतबार हर्षाेल्लासपूर्वक अट्वारी पर्व मनाइ रहेका छन्।
थारुको सघन बसोवास रहेका जिल्लामध्ये पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन्।
हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिने बित्तिकै उनीहरुले यो पर्व मनाउने गर्छन्। मुख्यगरी थारु समुदायका पुरुष अट्वारीमा पानी पनि नखाइ व्रत बस्छन्, आफ्ना लागि चोखो खानेकुरा आँफै पकाउँछन्। महिलाको भूमिका भने व्यवस्थापकीय मात्रै हुन्छ।
अट्वारी पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछि आउने आइतबारका दिन मनाउने प्रचलन छ। यो पर्व सूर्य अर्थात् शक्तिको उपसनाको लागि गरिन्छ।
श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरी पनि यो पर्व मनाइरहेका छन्। उनकाअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीच युद्धका नायक भिमसँग समेत जोडेर यो पर्व थारु समुदायले मनाउँदै आएको बताइन्छ।
नेपाली काँग्रेसका नेता चौधरी मटहवा महासंघ नेपालका केन्द्रीय अध्यक्ष पनि हुन्।
अट्वारीमा रोटी, काँक्रा, दही, केरा जस्ता स्थानीय परिकार खाइन्छ। तर, त्यसभन्दा पहिला छोरीचेलीका लागि अग्रासन झिकेर पूजा गर्ने परम्परा छ।
भोलिपल्ट बिहान पाँच वा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भात खाइसकेपछि आफ्ना चेलीबेटीलाई काशेली अग्रासन दिन जाने चलन छ।
अट्वारी पर्वलाई आफ्ना चेलीवेटी सम्मान तथा दाजुभाइ र दिदीबहिनीबीच आपसमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिनु उपयुक्त मन्त्री चौधरीको भनाइ छ।