व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा स्नान गरी चोखो बस्त्र पहिरेर सप्तऋषिको पुजा गरी मनाउदै छन्।
ऋषि पञ्चमीको अवसरमा राजधानीको टेकुस्थित ऋषेश्वर मन्दिर क्षेत्रमा विशेष मेला लागेको छ । यस मन्दिरमा गई सप्तऋिषिको पुजा आजा गरेमा अटल सौभाग्य प्राप्ती हुने विश्वासका साथ ठुलो संख्यामा महिलाहरु मन्दिर पुगी पुजा आजामा सरिक भएका छन् ।
भूकम्पले भत्काएको ऋषेश्वर मन्दिर जिर्णोद्धार भएपछि गतबर्ष भन्दा यस बर्ष दर्शनार्थी लगायत सबैलाई सजिलो भएको पुजारी रमेश लामिछानेले जानकारी दिए। श्रद्धालुहरु गएराति १० बजे देखि लाईन बसेपनि मध्यान्ह १२ बजे पछि मात्रै मन्दिरको ढोका खोलिएको थियो ।
गतबर्ष भन्दा यस बर्ष मन्दिरको पुर्ननिर्माण भएकाले दर्शन गर्न सजिलो भएको भक्तजन महिलाहरुले बताए ।
मन्दिर परिषरमा ब्रतालुको पर्याप्त सुरक्षा व्यवस्था मिलाईएको छ भने स्वस्थ्य क्याम्पहरु पनि संचालन छन् । विभिन्न संघ संस्थाहरुले प्राथमिक स्वास्थ्य जाँचका लागि स्टलहरु राखेर स्वास्थ्य सेवा प्रदान गरेका छन् । त्यसैगरी भक्तालु महिलाले पुजा सकेर मन्दिर परिसरमा नाचगान गरि रमाईलो मनाईरहेका छन् ।
आजको दिन ब्रतालु महिलाले ३ सय ६५ वटा दतिवनले दात माँझेर, चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते चढाउँछन् ।
सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास गरिन्छ ।
भाद्र शुक्लपक्षको पञ्चमीका दिन गरिने ऋषिपञ्चमीको व्रतमा ब्रतालुले नदी आदिमा विधिपुर्वक स्नान गरी सातै ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनुको साथै पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा मन्त्र सहित पूजा गरि अर्घ्य दिईन्छ ।
कतिपय ऋषेश्वर मन्दिर जान नसक्ने महिलाले घरैमा पनि ब्राह्मण बोलाई सप्तऋषिको विधिपुर्वक पूजा गर्ने गर्छन् । पञ्चमीको पूजा गरेसंगै महिलाहरुको तीज ब्रत पनि समाप्त भएको मानिन्छ ।