नेशनल मेडिकल कलेज वीरगन्जले अटेरी गरि वीरगन्ज महानगपालिकाको १० करोड कर तिरेको छैन। तत्कालिन उप-महानगपालिकाको कार्यालयले पटक पटक ताकेदा गरे पनि नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीले अटेरी गरेका हुन्।
एमालेबाट मेयर पदमा लड्न लागेका अन्सारीले नगरपालिकालाई तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रूपैया ४३ पैसा घरजग्गा कर नतिरेको नगपालिकाले जनाएको छ।
महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले मिति २०७४/०२/२३ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई एक पत्र लेखी ९ करोड २ लाख ४७ हजार ९९६ रुपैया ४३ पैसा महानगरपालिकाले नेशनल मेडिकल कलेजबाट असुल गर्नुपर्ने जनाएको छ।
मेडिकल कलेजलाई पटक पटक ताकेता गर्दा पनि कर तिर्न चासो नदेखाएको पत्रमा उल्लेख गरिएको छ।
वीरगन्ज महानगरपालिकाले आ.व. २०७३/०७४ सम्म घरजग्गा एवं एकीकृत सम्पत्ति करवापत १० करोड ३८ लाख ११ हजार ९०८ रुपैया ८ पैसा कर निर्धारण गरेको छ।
जसमध्ये मिति २०७१/११/१२ गते नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्दीन अन्सारीले आफैं आफ्नो कर निर्धारण गरेर घर जग्गा कर १ करोड २३ लाख १ हजार ५७१ रुपैया र एकीकृत सम्पत्ति बापत ६ लाख ३१ हजार १७० रुपैया ३४ पैसा बुझाएका थिए। बाँकि रकम अहिलेसम्म नतिरेको महानगरपालिकाले जनाएको छ।
उनले बुझाएको रकमलाई महानगरपालिकाले घरजग्गा बक्यौता कर अन्तर्गत बुझेको थियो।