नेशनल मेडिकल कलेज वीरगन्जले अटेरी गरी वीरगन्ज महानगपालिकाको १० करोड रुपैयाँ कर तिरेको छैन ।
तत्कालीन उपमहानगपालिकाको कार्यालयले पटक/ पटक ताकेता गरेपनि नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अंसारीले नगरपालिकाको पटक/ पटक गरिएको ताकेताको अटेरी गरी भवन कर छली गर्न खाजेको एक कर्मचारीले बताए ।
एमालेबाट मेयर पदमा लड्न लागेका नेशनल मेडिकल कलेजका बसरुद्दीन अंसारीले नगरपालिकालाई तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा घरजग्गा कर नतिरेको नगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले मिति २०७४/०२/२३ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई एक पत्र लेखी ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा महानगरपालिकाले नेशनल मेडिकल कलेजबाट असुल गर्नुपर्ने जनाएको छ ।
मेडिकल कलेजलाई पटक पटक ताकेता गर्दा पनि कर तिर्न चासो नदेखाएको पत्रमा उल्लेख समेत गरिएको छ । वीरगंज महानगरपालिकाले आ.व. २०७३/०७४ सम्म घरजग्गा एवं एकीकृत सम्पति करवापत १० करोड ३८ लाख ११ हजार ९ सय ८ रुपैयाँ ८ पैसा कर निर्धारण गरेको छ । जसमध्ये मिति २०७१/११/१२ गते नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्दीन अंसारीले आफैँ आफ्नो कर निर्धारण गरेर घर जग्गाकर १ करोड २३ लाख १ हजार ५७१ रुपैयाँ र एकीकृत सम्पति वापत ६ लाख ३१ हजार १ सय ७० रुपैयाँ ३४ पैसा बुझाएका पनि बाँकी रकम अहिले सम्म बाँकिरहेको छ । उनले बुझाएको रकमलाई महानगरपालिकाले घरजग्गा बक्यौता कर अन्तर्गत बुझेको छ ।