भदौ ४ गते राती ११ बजे प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश अमात्यको मात्र एकल सरुवा निकाल्यो।
प्रधान कार्यालयले साउन ३२ गते मन्त्रीस्तरीय निर्णयअनुसार अमात्यलाई महाशाखाबाट हेडक्वाटर कार्य महाशाखामा सरुवा गर्न पत्राचार भएको र सोही अनुसार उनको सरुवा निकालेको जनायो।
एसएसपी अमात्यको सरुवा महाशाखामा ६ महिनाअघि मात्र भएको थियो। अमात्य २०७३ साल माघ २४ गते महाशाखामा हाजिर भएका थिए।
६ महिना पुग्नासाथ किन भयो त, एसएसपी अमात्यको मात्र एकल सरुवा, हेडक्वाटरमा रहेका उच्च प्रहरी अधिकारीहरु एक जना मात्र एसएसपीको सरुवा हुनुलाई ऐतिहासिक भएको ठान्छन् ।
'कम्तीमा १ वर्ष समयावधि नपुगि काम गरिरहेका प्रहरी अधिकृतलाई विना कारण सरुवा गर्न पाइदैँन्' उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने, 'अमात्यको भएको छ, यो ऐतिहासिक हो, अहिलेसम्म एकल सरुवा कुनै एसएसपीको निकालिएको छैन्।'
राजनीतिक भागबन्डाका कारण एसएसपी अमात्यको सरुवा हुन पुगेको अर्का प्रहरी अधिकृत बताउँछन् । 'उनीमाथि आरोप पनि केही छैन, महाशाखामा गएपछि उनको कार्यकालमा भएका सबै अपराधको आरोपित अपराधी पहिचान गर्न उनी सफल भएका छन्' ती प्रहरी अधिकृतले सेतोपाटीसँग भने ।
६ महिने अवधिमा उनले साना ठूला गरी ४४ वटा घटनालाई समाधान गरेका छन् । हेडक्वाटरले उनको सरुवा निकालेको केहीछिनमा नै २५ जना एसएसपीहरुको पदस्थापन गर्यो । २५ जना एसएसपी पदस्थापन अनुसार अमात्यको स्थानमा सिआइबीमा रहेका दिवेश लोहनी आउने पक्का भयो।
काठमाडौं प्रहरी परिसरमा रबिन्द्र धानुक र ललितपुरमा गणेश ऐरको पदस्थापन भयो । २५ जना प्रहरी पदस्थापन राजनीतिक भागबण्डाका आधारमा भएको उच्च प्रहरी अधिकृतहरुले आरोप लगाएका छन् ।
गृहमन्त्रीमाथि आफू र आफ्नो दल निकट प्रहरी अधिकारीहरुलाई पायक पर्ने स्थानमा सरुवा गरेको आरोप लागेको छ । प्रहरी संगठनमा यसरी काम गर्दागर्दे राजनीतिक भागबन्डाको शिकार बन्ने प्रहरी अधिकृतलाई संगठनका प्रमुखले सरुवा गरिएको कारण खुलाउनुपर्ने प्रहरी अधिकारीहरुको माग छ।
यस्तै रुपमा प्रहरीहरुको हचुवाका भरमा सरुवा भए त्यसले संगठनलाई नै दिर्घकालिन असर पार्नेमा उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।