विद्युतको हाईटेन्सन पोलबाट तार चुडिएर घरमा खस्दा मंगलबार झापामा ३ जना घाईते भएका छन् । ११००० केविए विद्युत प्रवाह हुने सो तार स्थानीय चन्द्र काफ्लेको घरको भान्सामा खसेको थियो ।
गौरीगञ्ज गाउँपालिका १ कुञ्जीबारी बजारका चन्द्र काफ्लेको घरमा तार चुडिएर खस्दा ६५ वर्षीय काफ्ले सहित उनकी ५० वर्षीय श्रीमती राधिका र २५ वर्षीय छोरी दमन्ता गम्भीर घाईते भएका हुन् । दमन्ता तीजमा माईत आएकी स्थानीयबासीले बताए ।
स्थानीय प्रहरी चौकी कुन्जीबारीका प्रहरी सहायक निरीक्षक मोहन प्रधानका अनुसार मङ्गलबार बिहान तार चुडिएर घरमा करेन्ट प्रवाह हुँदा एकै घरका तीन घाईते भएका हुन् । घाईते तीनै जनाको चिन्ताजनक अवस्थामा विर्तामोडको वि एण्ड सी अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।
तार भुईमा झरेर करेन्ट लिक हुँदा बाटोमा बाँधिएका दुईवटा चौपाया पनि मरेको स्थानीय शिव बिमलीले बताए । मंगलबार झापामा वर्षा भएको थियो । बाटोमा बगेको पानीमा करेन्ट प्रवाह हुँदा स्थानीय ओमनारायण राजवंशीका गर्भवती गाई र एउटा गोरु मरेका छन् ।
विद्युत प्राधिकरणका प्राविधिकको लार्पाबाहीका कारण तार चुँडिएको स्थानीयबासीले गुनासो गरेका छन् । चुडिएर गासिएको ठाँउमा पुन: तार चुँडिएर स्थानीयका घरमा करेन्ट लागेको स्थानीय नगेन्द्र कुवँरले बताए । हामीले प्राविधिकलाई पटक पटक तार फेर्न आग्रह गरेका थियौं, उनले भने कर्मचारीले अटेरी गर्दा आज ठूलो दुर्घटना भयो ।
विद्युतका कर्मचारीलाई स्थानीय प्रशासनले सुरक्षा दिएर प्रहरी चौकी कुन्जीबारीमा राखेको छ । स्थानीयबासी आक्रोसित भएर कर्मचारी माथि जाई लाग्ने अवस्था भएपछि सुरक्षाका लागि उनीहरुलाई यहाँ राखिएको प्रहरी साहायक निरीक्षक प्रधानले बताए । उनले भने कुन्जीबारी बजार तनावग्रस्त छ ।