रुपन्देहीको भगवानपुरकी ताइरा खातुन आइतबार दिउँसो एक्कासी बेहोस भइन्। आफन्त र स्थानीयले भीम अस्पताल लगे।
अपरान्ह होस आएपछि बसिरहेका बेला आफूहरुलाई रिंगटा लागेको र कसैले आफ्नो कपाल काटिदिएको बताइन्। कसले कपाल काटिदिएको भन्ने विषयमा उनले केही बताउन सकिनन्।
उनले भनिन् 'चकमन्न भएजस्तै भयो, मैले आफ्नै कपाल काटिएको अवस्थामा देखेँ अनि बेहोस भए। ' त्यस्तै आइतबार विहान लुम्बिनी सांस्कृतिक नगरपालिकाकी २ युवतीको पनि कपाल काटिएको छ।
उनीहरु पनि खातुन जस्तै बेहोस भए । अस्पताल पुर्याएपछि उनीहरुको होस खुलेको छ। अहिले रुपन्देही जिल्लामा ५ जना युवतीहरुको कपाल काटिएको र बेहोस भएको प्रहरीले बताएको छ ।
कपिलवस्तुको पकडी क्षेत्रमा पनि यस्तै समस्या एक युवतीमा पाइएको छ। तर प्रहरीले भने यस विषयमा हल्ला सुनेपनि प्रहरीमा कुनै जानकारी नआएको बताएको छ।
जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले यस्तो हल्ला सुनेको तर प्रहरीमा लिखित रुपमा उजुरी दिन कोही नआएको बताए।
रुपन्देही प्रहरी प्रमुख १याम ज्ञवालीले भारतका विभिन्न स्थानमा देखा परेको समस्या सीमावर्ती जिल्लाहरुमा पनि देखिएको बताए। यसरी बेहोस हुने र कपाल काटिएकामा १७ वर्षदेखि २५ वर्षसम्मका युवती छन् ।
समस्या देखिएपछि रुपन्देही प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई अनुसन्धान गर्ने जिम्मा दिएको छ। प्रहरीले चिकित्सकसहित बेहोस भएकाहरुको उपचार सुरु गरेको छ भने घटनालाई अन्य मोडबाट अनुसन्धान सुरु गरेको छ।
'बेहोस भएकाहरुमा स्वास्थ्थ समस्या के छ त्यो पनि हामी हेरिरहेका छौं,' रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले सेतोपाटीसँग भने ।
महिलालाई कपाल काट्दिएर, समाज अपहेलित गर्ने मनसाय कुनै समूहको हुन सक्ने भन्दै त्यतातिरबाट पनि अनुसन्धान गरिएको उनले बताए।
'यो शतप्रतिशत अपराध नै हो, युवतीको कपाल काटियो, उनीहरु बेहोस भए भनेर प्रहरी चुप लागेर बस्दैन' उनले भने, 'यो कसरी भयो, किन भइरहेको छ, त्यस विषयमा पनि हामी चाँडै पत्ता लगाउँछौं ।'
यस्तो समस्या भारतमा केही साताअघि देखिएको थियो। एकान्तमा बसिरहेका बेला कतैबाट छोपेकोजस्तो भान हुने, बेहोस हुने र कपाल काटिनेजस्ता समस्या देखिएको पीडितहरुले बताएका छन् ।
रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले जिल्लाका कतिपय स्थानमा यस्तो समस्या देखिएता पनि नआत्तिन आग्रह गरेका छन् ।