रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।पीडितलाई गाउलेले केही चिउराहरु सहयोग गरे पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ।
दोहरटोलमा रहेका एक सय जनाभन्दा बढीले नुन चिउरा, पानीसमेत खान पाएका छैनन्। भत्किएको घर कुरेर उनीहरु बसिरहेका छन्। ‘बाढीबाट बाचियो खान नपाउर मरिने भइयो,’स्थानीय राम रतन राय यादवले दुःख पोखे।
पीडित शिवदयाल रायले गाउँको बिचमा रहेको रुखमा दुई दिन बसेर ज्यान बचाएको बताए। लालबकैया नदीले बाँध कटान गरेर बस्तिमा छिरेको थियो। पीडितले पानी समेत राम्रोसँग खान नपाएको, घरवार विहिन भएको, बालबच्चा बिरामी पर्न थालेको, घरमा भएका सबै अन्नपात बगाएको र डुवानमा परेकोले खान नपाएर मर्ने अवस्था आउन लागेको उनीहरुको भनाइ छ।
गाउँमा कोही पनि राहत दिन नआएको पीडितको गुनासो रहेको छ। दोहरटोका एक सय ५० घर सबै क्षति भएको छ। बाढी र डुबानबाट रौतहटमा तीन लाख मानिस विस्थापित भएको छन्। चारलाख मानिसहरू बाढी र डुवानबाट प्रत्यक्ष प्रभावित छन्।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा जिल्लामा करिब ६० हजार घर क्षती भएका छन्। जिल्लाको ८० प्रतिशत भू-भाग डुवानमा परेका छन्। मुख्य राजमार्ग तथा सहायक राजमार्ग भत्किएका कारण आवतजावतमा समस्या भएको छ।
लाखौ मानिस खान र बस्न नपाएर समस्यामा छन्। घरमा रहेको खाद्यान्न बगाउँदा तथा डुवानमा पर्दा हजारो मानिस भोकभोकै छन्।