विगत चार दिनदेखि अविरल वर्षाका कारण अस्तव्यस्त बनेको दाङको जनजीवन मङ्गलबारदेखि भने सामान्य बन्दै गएको छ ।
वर्षा रोकिएपछि खहरे खोला र नदीहरुमा पानीको बहाव घट्दै गएकोले जनजीवन सामान्य बन्दै गएको हो । मंगलबार बिहानैदेखि यहाँ यातायातका साधनहरु सञ्चालनमा आएका छन् । शुक्रबारदेखिको बाढीले गर्दा दाङमा यातायात सञ्चालनमा आउन सकेका थिएनन् । दाङ आन्तरिक नाकावन्दीमा परेको थियो ।
बाढीले भत्काएका सडक खण्डहरु मर्मत भएपछि मंगलबार बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएको राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका डायल इञ्चार्ज प्रकाश भट्टले सेतोपाटीलाई बताए । उनले मंगलबारदेखि काठमाडौं लगायत देशका अधिकांश शहरहरुमा गाडी पठाइएको जानकारी दिए । तर, राप्ती राजमार्ग अन्तरगत तुलसीपर–अमेलिया सडकखण्डको जंगल क्षेत्रमा पहिरो गएको तथा त्यहाँ पनि दुईतर्फबाट सडकको पहिरो पंछाउने कार्य भइरहेको हुँदा गाडी छोड्ने तयारी भइरहेको भट्टले बताए ।
महेन्द्र राजमार्ग अन्तरगत बाँके क्षेत्रमा बाढीले पुल तथा बाटो बगाएको भएपनि अस्थायी रुपमा वैकल्पिक मार्ग निर्माण गरिएको हुँदा गाडी पठाइएको भट्टले बताए । काठमाडौं जानको लागि मुग्लिङ सडकखण्ड अवरुद्ध भएपनि बुटवल – पाल्ला–पोखरा हुँदै जानका लागि मंगलबारदेखि गाडी छोडिएको राप्ती समितिका डायल इञ्चार्ज भट्टले बताए ।
तुलसीपुर पश्चिम हुँदै सुर्खेत भने अवरुद्ध रहेको छ । बाढीले ठाउँ ठाउँमा सडक भत्काएपछि बाटो अवरुद्ध हुन पुगेको जानकारी दिइएको छ । तर पश्चिमको पुरन्धारासम्मको लागि मंगलबार दश बजेदेखि गाडी छोडिएको भट्टले बताए । बागमारे लगायतका विभिन्न स्थानमा भत्किएको बाटोलाई सामान्य मर्मत तथा अस्थायी डाईभर्सन निर्माण गरेरै भएपनि सवारी सञ्चालनमा ल्याइएको भट्टले जानकारी दिए ।