दाङमा बाढीले बगाएको सडकखण्ड निर्माणमा नेपाली सेना खटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतिपुरमा शुक्रबार राति परेको अविरल वर्षाले सडकखण्डको कलभर्ट बगाएपछि यातायातका साधन ठप्प छन् ।
तीन दिनदेखि बन्द सडक खण्ड खुलाउन र बगाएको सडकखण्ड निर्माणमा नेपाली सेना सोमबार विहानैदेखि खटिएको छ । तुलसीपुरस्थित १९ नं. बाहिनीका बाहिनी पति विनोद पाण्डेले ६० जना जवानसहित भत्किएको सडकखण्ड मर्मतको काममा जुटेका हुन् । त्यस्तै तुलसीपुरस्थित सशस्त्र वेस क्याम्पका ३० जवान र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट २० जना सडक मर्मतमा खटिएको ईप्रका तुलसीपुरका निमित्त प्रमुख विवेक शाहले जानकारी दिए ।
बाढीले भत्काएको सडक मर्मतका लागि नेपाली काँग्रेसका नेता एवं सांसद डिल्लीबहादुर चौधरीले सुरक्षा निकायका प्रमुख र सडक डिभिजन कार्यालय पदाधिकारीसँग छलफल गरेर सडक निर्माणको पहल गरेका थिए । निर्माणमा प्रयोग हुने साधन र लाग्ने सम्पूर्ण खर्च सडकले बेहोर्ने तर त्यो निर्माणको लागि आवश्यक जनशक्ति नेपाली सेना र अन्य सुरक्षा निकायले उपलब्ध गराउने निर्णय भएपछि सोमबारदेखि भत्किएको सडक मर्मतको काम शुरु भएको हो । तीनदेखि यातायात ठप्प हुँदा सर्वसाधारण नागरिकको दैनिकी कष्टकर बनको छ ।
यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ र कपिलवस्तुको सीमा क्षेत्र धानखोला क्षेत्रमा आइतबार बिहान झरेको पहिरो पञ्छाएर बिहान दश बजेतिर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए । डिएसपी तिवारीले घोराही–लमही सडकखण्ड र तुलसीपुर–अमेलिया सडकखण्डकोे पहिरो पञ्छाउन स्काभेटर प्रयोग गरिएको जानकारी दिए ।
त्यस्तै दाङ र रोल्पाको होलेरी सडक खण्ड र दाङ– सल्यान सडक खण्डका खसेको पहिरोको अवरोध हटाउन प्रहरी स्काभेटर सहित खटिएको उनले जानकारी दिए । अविरल वर्षापछिको वाढीले बगाएको पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको अगैया क्षेत्रको पुल र त्यसभन्दा पश्चिम पुल क्षेत्रमा निर्माण कार्य जारी रहेपनि राजमार्गमा यातायात सुचारु हुन नसकेको प्रहरीले जानकारी दिएको छ । लगातारको वर्षाले निर्माणमा समस्या आइपरेको उनले बताए । यसैबीच जिल्ला प्रहरी, जन प्रतिनिधी र रेडक्रस गरि हरेक प्रभावित क्षेत्रमा ३÷३ जना भएर विपतवाट भएको क्षतिको विवरण द्रुत रुपमा संकलन कार्य सुरु गरिएको प्रहरीले बताएको छ ।
सेनाले रातिमा बाढीमा फसेकालाई उद्धार गर्योयसैबीच नेपाली सेनाको १९ नं. बाहिनीले गएराति बबईको बीचमा फसेका नौं जना व्यक्तिलाई सकुशल उद्धार गरेको छ । बाहिनी पति विनोद पाण्डे नेतृत्वको सेनाको टोलीले तुलसीपुर ११ बेलटाकुरा र तुलसीपुर १३ फूलवारीको सीमानामा पर्ने टापुमा घर बनाएर बसेका नौं जना व्यक्तिलाई रातिमा उद्धार गरेको हो । शुक्रवार राति बाढी आएपछि उनीहरु बबईको बाढीको घेरावन्दीमा परेपनि उद्धार हुन सकेको थिएन । तर नेपाली सेनाको सक्रियतामा उनीहरुको सकुशल उद्धार सम्भव भएको हो । त्यसैगरी नेपाली सेनाले आइतवार दिनभर र राति १० बजेसम्म पहिरोका कारण जंगलको बीचमा फसेका झन्डै दुई सय यात्रुलाई आफ्नो ट्रिपरको सहायताले उद्धार गरेर तुलसीपुर ल्याएको बाहिनी पति पाण्डेले सेतोपाटीलाई बताए ।
दाङमा बाढीबाट तीन जनाको मृत्यु,एक जना व्यपत्तादाङमा अविरल वर्षापछि आएको बाढीले हालसम्म तीन जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । आइतबार बिहान घोराही उपमहानगरपालिका १२ पेदागाउँ निवासी ३३ बर्षीया निर्मला बाँठा मगरको हापुर खोला तर्ने क्रममा बगेर मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए । शनिबार तुलसीपुर १३ फूलवारी निवासी ४८ वर्षीया भगवती सुनार र तुलसीपुर ४ का ५८ वर्षीय नरबहादुर रावतको बाढीमा बगेर मृत्यु भएको थियो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ४० वर्षीय मेघबहादुर केसी स्थानीय क्वाङखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका छन् । उनलाई क्वाङखोलाले आइतबार बेलुका बगाएको भएपनि हालसम्म उनको अवस्था अज्ञात छ । केसीको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।