महोत्तरीको रातु, जंगहा, अंकुशि र विग्ही नदीमा आएको भीषण बाढीले जलेश्वर नगरपालिकासहित १० नगरपालिका र ५ गाउँपालिकाका २ हजारभन्दा बढी घर डुवानमा परेका छन्। बाढीबाट जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर र लोहारपटि नगरपालिका अत्याधिक प्रभावित भएको छ। बाढीबाट करिब ८ सय जना विस्थापित भएका छन्। जसमध्ये मटिहानी नगरपालिका जरलहवा टोलका ५ सय जना छन्।
२ सय घर पूर्णरुपमा भत्केको र ५ सय घरमा आंशिक क्षति पुगेको छ। जिल्लाका सवै विद्यालय बन्द गरिएको छ। विस्थापित परिवारलाई विभिन्न विद्यालयमा राखिएको छ।
बाढीको पानी सदरमुकाम जलेश्वरमा प्रवेश गरेपछि जिल्ला प्रहरी कार्यालय, कारागार, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, शिक्षा, पशु, कोष तथा लेखा नियन्त्रण कार्यालयसहित दुई दर्जन सरकारी कार्यालय डुवानमा परेका छन्।
कारागारमा १० फिट पानी प्रवेश गरेपछि ५ सय २ कैदीबन्दीलाई कारागारको माथिल्लो तल्लामा सारिएको छ। टेलिफोन र ईन्टरनेट पुरै बन्द छ। विद्युत र सञ्चार सेवा अवरुद्ध छ।
भन्सार क्षेत्र मलिवारामा सशस्त्र प्रहरी राजस्व तथा भन्सार गुल्मको ब्यारेक डुवानमा परेको छ। त्यहाँका जवानलाई अहिले पशु क्वारेन्टाईन र जिल्ला भन्सार कार्यालयको ग्यारेजमा स्थानान्तरण गरेको छ। सदरमुकाम जलेश्वर जलमग्न छ।
बाढीमा परेका नागरिकको उद्धारमा खटिएका महोत्तरी प्रहरीकै कार्यालय तथा क्वाटरहरु डुवानमा परेको छ। जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदालत लगायतका कार्यालय डुवानमा परेको हो।
महोत्तरीका १० वटा प्रहरी युनिट डुबानमा परेको छन्। कार्यालयहरुमा ४ फिटसम्म पानी जमेको छ। सदमुकाम जलेश्वरलाई रातु खोलाको बाढीको पानीले चौतर्फी रुपमा घेरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।
किसाननगरका स्थानीय बलराम कार्कीका अनुसार रातु खोलाको बाढीले बर्दिबास नगरपालिका—६ किसानगरस्थित ३ सय मिटर बाँध भत्काएको छ। बालीनाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए।
डुवानका कारण करेसाबारी सोस्तर भएकाले किसान चिन्तित छन्। महोत्तरीमा अहिलेसम्म मानवीय क्षति भएको छैन। बाढीको भेलले महोत्तरीका सडकहरु क्षतविक्षत भएर प्रहरी गाउँ पस्न सकेका छैनन्।
सडक अवरुद्ध हुँदा प्रहरीको एक युनिटबाट अर्को युनिट सम्मको यातायात सम्पर्क टुटेकोछ।
रातु नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जोड्ने रातो पुल,जंगहा पुल भासिएको छ भने बाढीले लक्ष्मीनिया ५ स्थित खोलसि पुल बगाएपछि पश्चिमबाट आउने सवारी साधन सर्लाहीको जंगलमा र पूर्वबाट आउने धनुषाको लालगढमा रोकिएपछि सयौ यात्रु अलपत्रमा परेका छन्।
शनिबार साँढे ६ बजेको समयमा रातु खोलामा आएको भीषण बाढीले खोलाको पूल भाँसिदा यातायात सेवा प्रभावित बन्न पुगेको छ। सात वटा पिलर मध्ये चौंथौ पिलर भाँसिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले बताए।
१९९० साल तिर निर्माणधिन रातु पुलको महोत्तरी तिरको दुई वटा पिलर भाँसिएको दुई बर्ष नबित्दै पुलको चौथौं पिल्लर भाँसिएको हो।
‘पूल भाँसिएको छ। मालवाहक सवारी साधन संचालमा रोक लगाएका छौं’, डिएसपी शर्माले भने, ‘प्रहरीको निगरानीमा यात्रुबाहक बसका यात्रु ओरालेर आवत जावत गराएका छौं। खोलामा भिषण बाढी भएकोले जोखिम भने कायमै छ।’
पुल भाँसिएपछी सयौं मलवाहक सवारी अलपत्र परेका छन्। महोत्तरीको बर्दिबास र धनुषाको लालगढतिर मालवाहक तथा हैवी सवारी साधनको ठूलो लाम लागेको छ। मालवाहक सवारीका चालकले खान पाएका छैनन्। लगातारको वर्षाले बिहानै बर्दिबास र लालगढका होटलहरु समान्य मात्रा खुलेकाले खाना खान समस्या नै छन।
प्राविधिक चेकजाँचपछि मात्र मालवाहक सवारी साधन सञ्चालन गरिने महोत्तरीका एसपी कुवेर कडायतले बताए। ‘पुलमा धनुषा र महोत्तरीका प्रहरीको बाक्लो उपस्थिति बढाएका छौं। पुल लच्किएको खबर छ।’ दुई वर्ष अघि रातु पुलको सात पिलर मध्य महोत्तरीको दुई वटा पिलर भाँसिएपछि महिनौंसम्म यातायात सेवा अवरुद्ध बनेको थियो।
रातु पुलको भाँसिएको दुई पिलर मर्मत सम्भार गरि काम चलाएको एक वर्ष नहुँदै फेरि पिलर भाँसिएको हो। महोत्तरी तिरको चौंथौ पिलर भाँसिएपछि हजारौं यात्रु तथा मालवाहक सवारी साधनका सरोकारवाला समस्यामा परेका जनता माध्यमिक विद्यालय बर्दिबासका शिक्षक शंकर महतोले गुणासो गरे।
खोलामा नयाँ पुल निर्माण ढिलो गरि सुरू हुँदा रातु खोलाको पुल फेरि भाँसिएपछी स्थानीय चिन्तित भएका बर्दिबास सेवा समितिका अध्यक्ष हिरालाल गौतमले बताए। उनले भने,‘हाम्रो महोत्तरी र धनुषाको बीचको रातु पुल पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने एक प्रकारको लाइफ लाइन नै हो। रातु पुल भाँसिएसँगै मधेशको पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने देशकै मेरुदण्ड मानिने रातु पूल भाँसिदा हामीलाई चिन्नित बनाएको छ।’
रातु खोलामा मंसिरदेखि नयाँ पुल बन्ने क्रममा छ। पाँच वटा पुलको पिलरको काम सकिएको छ। तर वर्षाको कारणले रातु खोलामा बाढी आएकोले काम भने एक महिना अगाडि देखि रोकिएको छ।
बर्दिवास नगरपालिकाको पाटुमा तीन ठाउँमा पहिरो जादा र वर्षाले माटो गलेर रुख खस्दा बीपी मार्ग अवरुद्ध छ। बाढीको पानी सडकमा १० फीट बग्न थालेपछि जलेश्वर जनकपुर, बर्दिवास जलेश्वर, मटिहानी जलेश्वर सडक खण्ड अवरूद्ध भई सदरमुकाम जलेश्वरसँग सम्पर्क विच्छेद भएको छ।