विगत २ दिनदेखि लगातार परेको बर्षाले गर्दा विराटनगरवासीको जनजीवन कस्टकर बन्न थालेको छ। आइतबार बिहान पानी रोकिए पनि मौसम अझै खुल्न सकेको छैन्। शनिवार राती स्थानीय नदी तथा खोलाहरु फुटेर पानी घर भित्र प्रवेश गरे पछि स्थानीयवासीहरु त्रासमा छन्।
शनिवार राती केशलीया, तेग्रा, सिघिंया खोलाको ड्याम फुटेर सबै पानी घर तथा बस्तीतर्फ प्रवेश गरेको थियो। घर–घरमा पानी पसेका कारण चामल, दाललगायत अत्यावश्यक खाध्यवस्तुहरु काम नलाग्ने भएका छन्। शनिवार विहानदेखि विजुली क्षतविक्षत अवस्थामा छ। जसका कारण मोबाइलको ब्याट्री चार्ज गर्न नसक्दा बाहिर बस्ने आफन्तसँग यहाँका स्थानीयवासीहरु सम्पर्कमा आउन सकिरहेका छैनन्।
घरको ट्वाइलेट र ड्रेनेजमा पानी भरिँदा मानिसहरुलाई दिसा–पिसाब गर्न अफ्ठेरो परेको छ। शनिवार राती एकतले घरको कोठासम्म पानी प्रवेश गरेको थियो। राती धेरैले आफ्नो ज्यान जोगाउन अग्लो घरमा पुगेर शरण लिएका थिए।
सिघिंयाको शान्ति चौक नजिकै कमजोर घरहरु सबै पानीले बगाएको थियो। पक्की घरमा पनि एकतले कोठामा सुत्न राखिएको खाँटसम्म पानी प्रवेश गरेको थियो। ‘हामीले नजिकै आफन्तको घर पुगेर ज्यान जोगायौं,’ स्थानीय पवन अर्यालले भने। उनले बाटोमा पानीको तिब्र बहाब भएका कारण विगतमा ३ मिनेटमा हिडेर पुग्ने आफन्तको घर पुग्न आफूहरुलाई अाधा घण्टाभन्दा बढि समय लागेको बताए।
आइतबार बिहान सिघिंया खोलाको निरीक्षण गरेका स्थानीय रमेश मानन्धर आफूले जीवनमा यति ठूलो बाढी नदेखेको बताए। ‘गाईवस्तुको कुरा छोडौं, बाँसको मुस्ला जरैसमेत उखेलेर बगाएर ल्याएको थियो,’ उनले भने।
बाटोभरि पानी भएका कारण मानिसहरु हिडडुल गर्न सकिरहेका छैनन्। खेतमा लगाइएको धान र तरकारीहरु सबै नस्ट भएको छ। हिडडुल गर्ने अवस्था नभएका कारण उद्धारमा कार्यमा पनि समस्या देखिएको छ।