तुलसीपुर उपमहानगरपालिकाले बाढी पीडितलाई राहत वितरण गरेको छ । वडा नम्वर १३ का बाढी पीडितहरुलाई मेयर घनश्याम पाण्डेले रातको समयमा पुगेर राहत वितरण गरेका हुन् ।
दमारगाउँ र रनियापुरका बाढीपीडितहरुलाई चामल, दाल, तेल, चाउचाउ ,च्युरा, नुन, वेसार लगायतका खाद्यान्न र भाडाकुडा वितरण गरिएको हो । दमारगाउँका बाढीपीडित नन्दाराम विकले राहत वितरणले केटाकेटीलाई भुलाउन सजिलो भएको बताए ।
राहत वितरण गर्दै मेयर पाण्डेले थप राहतका लागि तत्काल पहल गर्ने तथा समस्याको दिर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था मिलाउने बताएका थिए । उनले पीडितको तथ्यांक तत्काल संकलन गर्न वडाका जनप्रतिनिधी र प्रहरीलाई निर्देशन दिएका छन् ।
यसैगरी, उपमहानगरका अन्य बाढीपीडितलाई पनि तत्काल राहत वितरण गर्ने उनले बताएका थिए । राहत वितरण कार्यक्रममा उप मेयर माया आचार्य र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतको पनि संलग्नता रहेको थियो ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले बाढीबाट मृत्यु भएकी भगवती सुनारका परिवारलाई तत्काल किरिया खर्च स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यसअघि पीडित परिवारलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिंचाई मन्त्री दिपक गिरीले २५ हजार रुपैयाँ रकम उपलब्ध गराएका थिए ।